पूर्वाञ्चलमा ६० जनाको हत्या


Share This

नेपालबहस संवाददाता    

१७ पुस, काठमाडौं । पूर्वाञ्चलमा यस वर्ष ६० जनाको हत्या भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पूर्वाञ्चलमा मानवअधिकारको अवस्था सार्वजनिकीकरण कार्यक्रममा जनवरी १ देखि डिसेम्बर महिना (२०७३ साल पुस १७ देखि २०७४ पुस १० गते)सम्ममा उक्त हत्या भएको तथ्याङक प्रस्तुत गरिएको छ ।

उक्त अवधिमा गैरराज्यपक्षबाट २५ महिला र २९ पुरुष गरी ५४ जनाको हत्या भएको छ भने राज्यपक्षबाट ६ जना पुरुषको हत्या भएको जनाएको छ ।

एक वर्षको अवधिमा मानवअधिकार हनन र ज्यादतीका एक हजार ५९ जना पीडित भएको छ । तीमध्ये राज्यपक्षबाट ५३ पुरुष र तीन महिला गरी ५६ जना र गैरराज्यपक्षबाट ८३८ महिला र १०८ पुरुष गरी एक हजार तीनजना पीडित भएको प्रस्तुत तथ्याङकमा उल्लेख छ ।

यस्तै सो अवधिमा बलात्कारको घटनामा १०१ महिला पीडित भएका छन् भने बलात्कारको प्रयासबाट ५४, यौनजन्य दुव्र्यवहारबाट २८, बहुविवाहमा ६८, मानव बेचबिखनमा २०, बोक्सीको आरोपमा अमानवीय व्यवहारवाट पाँच र घरेलु हिंसाबाट २६७ जना महिला पीडित भएको उल्लेख छ ।

सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोग पूर्वाञ्चलका निर्देशक मञ्जु खतिवडाले मानवअधिकारको उल्लंघनको घटना वृद्धि हुनु चिन्ताको विषय भएको बताउँदै यसलाई न्यूनीकरण गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले राज्यले स्रोत र साधनको अधिकतम प्रयोग गरी मानवअधिकार संरक्षणका लागि कार्य गरिरहेको चर्चा गर्दै वर्तमान संविधान मानवअधिकार मैत्री रहेको धारणा व्यक्त गरे।

इन्सेकका पूर्वाञ्चल संयोजक सोमराज थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सभापति बन्धु पोखरेल र इन्सेक मोरङका प्रतिनिधि इन्दिरा भट्टराईले पूर्वाञ्चलमा मानवअधिकार उल्लंघनका भएका घटनाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार