समानुपातिकको परिणाम सार्वजनिक गर्न आयुक्त यादवलाई दबाव, कार्यकक्षमा पुगे एमाले र माओवादी नेता


Share This

नेपालबहस संवाददाता    

१७ पुस, काठमाडौं । वाम गठबन्धनले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको परिणाम अविलम्ब सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ ।

गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्तसँग भेटी जनताले दिएको मतको सम्मान एवं संविधान तथा कानुनको मर्म र भावनाको कदरका लागि सो परिणाम सार्वजनिक गर्न माग गरे। राष्ट्रियसभाको निर्वाचन भएपछि मात्र सो परिणाम सार्वजनिक गर्ने तयारीप्रति आपत्ति जनाउँदै गठबन्धनले संविधान र निर्वाचन कानुन निर्माणमा संलग्नसमेत भई अनुभव हासिल भइसकेकाले कुनै पनि निर्वाचनको परिणाम अविलम्ब सार्वजनिक गर्न कुनै अप्ठेरो नहुने स्पष्ट गरेको छ । मुलुकलाई जनादेशानुसार अघि बढाउन पनि गठबन्धनले आयोगलाई आग्रह गरेको छ ।
समानुपातिकको परिणाम नआउँदा नयाँ सरकार निर्माणको प्रक्रिया ढिलो हुने भएकाले यस प्रक्रियाका सम्बन्धमा कुनै संवैधानिक वा कानुनी समस्या भएमा नेपाल सरकार र संवैधानिक निकायले फुकाउनुपर्ने अन्यथा जनताले फरक ढंगले प्रतिक्रिया दिँदा लोकतन्त्रका लागि हानि पुग्न सक्नेतर्फ नेताहरुले ध्यानाकर्षण गराए । गत मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो ।

भेटपछि प्रमण्डलका तर्फका एमालेका उपाध्यक्ष भीमबहादुर रावलले ‘संविधानको भावनानुसार सात दिनभित्र निर्वाचन परिणाम दिनुपर्नेमा लामो समयसम्म अड्काएर राख्दा मत दिने जनताको आदेश विपरीत हुने’ विषयमा आफूहरुले सविस्तार स्पष्ट पारेको बताए । उनले ‘राष्ट्रियसभा र प्रतिनिधिसभामा गरी संघीय संसद्मा कुल ३३ प्रतिशत महिलाको संख्या पुग्ने विषयमा कुनै अन्योल नरहेकाले’ समानुपातिकको परिणाम सार्वजनिक गर्न राष्ट्रियसभाको निर्वाचन पर्खन नपर्ने जिकिर गरे ।

जवाफमा आयोगले आफूहरु पनि अनन्तकालसम्म परिणाम सार्वजनिक नगरी राखिरहने सोचमा नरहेकाले दलहरुसँगको थप परामर्शका आधारमा समस्या समाधानका लागि सामूहिक पहल गर्न तयार रहेको विश्वास दिलाएको रावलले जानकारी दिए । भेटमा ‘एमालेका नेताहरुले कानुनको व्याख्या गर्न जान्दैनन्’ भनी प्रमुख आयुक्त डा यादवले सार्वजनिक अभिव्यक्ति दिएको भन्ने विषयमा नेताहरुले चासो व्यक्त गरे पनि उनले आफूहरुले त्यस्तो धारणा नदिएको र दिन नसक्ने स्पष्ट पारे ।

प्रमण्डलमा एमालेबाट रावलसहित स्थायी कमिटी सदस्य सुवास नेम्वाङ तथा नेताहरु अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठ तथा माओवादी केन्द्रबाट नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन र रामनारायण बिंडारी संलग्न थिए ।

यसैबीच संयुक्त विद्यार्थी तथा युवा संगठनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेपछि समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउन माग गर्दै हिजो नै निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियू, अनेरास्ववियू(क्रान्तिकारी), वाइसिएल र युवा संघ नेपालका प्रतिनिधिले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका हुन् । उक्त पत्रमा वाम गठबन्धनको परिणामबाट आत्तिएर विदेशी योजना र नेपाली काँग्रेसका निर्देशनमा गठबन्धन छुटाउने र नयाँ सरकार गठन गर्न नदिने आरोप लगाउँदै मुलुकलाई अस्थिरतातर्फ धकेल्न नदिनका लागि चाँडो परिणाम सार्वजनिक गर्न माग गरिएको छ ।
पत्र बुझेपछि डा यादवले संवैधानिक र कानुनी जटिलताले केही ढिला भएको स्वीकार्दै दलहरुले ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गराउनुपर्ने व्यवस्थाले गर्दा निर्धारित समयमा काम गर्न नसकिएको बताएका थिए ।

राष्ट्रियसभामा स्वतन्त्र दल पनि सहभागी हुन पाउने व्यवस्था गरिएको बताउँदै उनले दललाई नाम सच्याउन आज पत्राचार गरिने जानकारी दिए । आयोगले ती सबै कानुनी प्रक्रिया पूरा गरेपछि परिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार