सर्वोच्च अदालतमा उपस्थित भए डा. केसी


Share This

नेपालबहस संवाददाता    

२५ पुस, काठमाडौं । वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित भएका छन्।

सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो ।

डा केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै हिजोबाट अनशन शुुरु गरेका थिए । अनशन स्थलबाट सोमबार साँझ ८ बजे डा केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

मुद्दा लगाउ भन्दै समर्थकले गरे आन्दोलन

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीलाई प्रक्राउ गरिएको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

अदालतको अवहेलना मुद्दामा प्रा डा केसी पक्राउ भएपछि उनको समर्थनमा विभिन्न राजनीतिक दलका नेता र सर्वसाधारण माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् ।

‘सोलिडारिटी फर डा केसी एलायन्स’ को अगुवाइमा बिहान ८ः०० बजेदेखि प्रदर्शनमा उत्रिएका समर्थकले ‘डा केसी एक्लो छैन’, ‘हामी तिम्रा साथ छौँ’, ‘म पनि गोविन्द केसी मलाई पनि पक्राउ गर’, ‘केसीलाई कष्ट माफियालाई अनिष्ट’, ‘सर्वोच्च अदालतलाई सम्मान भ्रष्टलाई दण्ड’ लगायतका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

प्रा डा केसीलाई तुरुन्त रिहाइ गर्नुपर्ने भन्दै माइतीघर पुग्नुभएका नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निष्ठाको लडाईं लडिरहेका सादगी व्यक्तिलाई प्रक्राउ गर्नु आपत्तिजनक भएको बताए ।

उनले भनेः– “सग्रम स्वास्थ्य र शिक्षाको सुधारमा लागेका व्यक्तिलाई यसरी हठात्मा प्रक्राउ गर्नुपर्ने कुनै कारण देखिँदैन, गिरफ्तार गरेर कारबाहीतिर जानुभन्दा उहाँबाट उठाइएका मागका सम्बन्धमा छानबिन गर्नु नै उपयुक्त हुन्छ, उहाँ आफैँ पनि सत्याग्रहमा हुनुहुन्छ त्यसैले उहाँलाई दण्डित गर्नुको अर्थ रहँदैन ।”

सत्य र सत्ताको लडाईंमा तत्काल सत्ताले जिते पनि अन्ततः सत्यको जित हुने भएकाले आफू डा केसीको साथमा रहेको उनले बताए ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले प्रा डा केसीलाई जे आरोप लगाएर पक्राउ गरिएको छ , माइतीघरमा उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गर्न चुनौती दिए । उनले भने, “ श्रीमान् यदि सत्यका लागि बोल्दा डा केसीलाई मानहानी मुद्दा लाग्छ भने हामीलाई पनि मानहानी मुद्दामा प्रक्राउ गरियोस्, सबैभन्दा बढी सम्मान अदालतप्रति हुनुपर्छ भन्ने मान्यतामा धावा बोलिएकाले विरोध गरिएको हो, जुन अदालतको विरोधमा होइन, सम्मानका लागि हो ।”

प्रा डा केसीलाई तत्काल रिहा गर्न माग गर्दै थापाले भने, “डा केसीले उठाएका मागबारे गम्भीररूपले छानबिन गर्न आग्रह गर्दछु ।” सम्मानित अदालतप्रति सम्मान रहे पनि बेलाबखत भएका विवादास्पद निर्णयका कारण न्यायालयमाथि जनताको आस्था घटदै गएकोे उनको भनाइ थियो ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सर्वोच्च अदालतले तत्काल कारबाहीका लागि आदेश जारी गरेका कपितय मुद्दा राजनीतिका कारण कारबाही अघि बढाउन नसक्नु तर स्वच्छ छविका डा केसीलाई भने कारबाही गर्नु स्वीकार्य नहुने बताए ।

“उहाँलाई रिहा गर्नै पर्छ, उहाँले लगाएका आरोपका बारेमा छानबिन हुनैपर्छ, अदालतबारे सबैलाई यही लागेको हो जुन डा केसीले बोल्नुभयो”– मिश्रले भने ।

उक्त संस्थानको चार वर्षअघिको डिन पुनःबहाली सम्बन्धी सर्वोच्च अदालतले गत आइतबार गरेको आदेश न्यायसंगत नभएको भन्दै प्रा डा केसीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सोमबारबाट अनिश्चित आमरण अनशन शुरु गरेका थिए ।

प्रधानन्यायाधीशको राजीनामा र उनले गरेका कामबारे छानबिन गर्न माग गरेपछि उनलाई अदालतको अपहेलना गरेको आरोपमा प्रक्राउ गरिएको थियो । डा केसीले चार वर्षअघि बर्खास्तमा परेका संस्थानका डिन डा शशि शर्मालाई सर्वोच्चले पुनःबहाली गरेपछि सोको विरोध गरेका हुन् ।

माइतीघरमा भएको भेलामा मुटु शल्यचिकित्सक डा रामेश कोइराला, नसासम्बन्धी सल्यचिकित्सक डा बसन्त पन्त, डा रवीन्द्र पाण्डे (समीर), नेपथ्यका गायक अमृत गुरुङ, हास्यकलाकार निर्मल शर्मा (गैडा) लगायत सर्वसाधारण सहभागी थिए । आफ्ना मागसहित आमरण अनशन शुरु गरेका प्रा डा केसीले प्रहरी हिरासतमा पनि अनशन जारी राखेका छन् भने अहिले उनलाई सर्वोच्च अदालतको मानहानिका विषयमा अदालतमा बहसका लागि उपस्थित गराइएको छ ।

डा. केसीको मुद्दा ओमप्रकाश र केदार चालिसेको बेञ्चमा
डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा परेको छ । सर्वोच्चको आदेश अनुसार प्रहरीले डा. केसीलाई विहान ९ बजे नै उपस्थित गराएको थियो ।

डा. केसीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् ।

केसीको विपक्षमा रमन श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, श्यामप्रसाद खरेल लगायतले बहस गर्नेछन् ।

डा. केशी पक्राउ
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनशन शुरु गरेकाका प्रा डा केसीलाई हिजो बेलुका अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको थियो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आजै अवहेलनाको मुद्दामा प्रा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार