प्रभु बैंकको ४० प्रतिशत हकप्रदको बिक्री खुल्यो


Share This

नेपालबहस संवाददाता    

७ माघ, काठमाडौं । पूँजी बृद्धिको योजनामा रहेको प्रभु बैंक लिमिटेडले दश बराबर चार अर्थात ४० प्रतिशत हकप्रद सेयरको बिक्री आज माघ ७ गतेदेखि खुल्ला गरेको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि फागुन १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुग्नेछ । प्रभु बैंकलाई नेपाल धितोपत्र बोर्डले गत पुस ६ गते ४० प्रतिशत हकप्रद निष्कासनको स्वीकृती प्रदान गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले २५ करोड ७ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५ पैसा कायम गरेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार