सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित, प्रदेशसभा सदस्यले लिए पहिचान झल्कने पोसाकमा सपथ


Share This

नेपालबहस संवाददाता    

७ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित भएको छ ।

निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली प्रकाशित भएको हो ।

प्रदेश नं १ मा मोरङ जिल्लाको विराटनगर, प्रदेश नं २ को धनुषाको जनकपुरधाम, प्रदेश नं ३ को ललितपुरको पाटन, प्रदेश नं ४ को कास्कीको पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ तथा ५५० प्रदेशसभा सदस्य गरी कूल दुई हजार ५६ जना मतदाता रहेका छन् ।

५ नं प्रदेशसभा सदस्यबाट शपथ
प्रदेशसभामा नवनिर्वाचित प्रदेश नं ५ का सदस्यले आज प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेललाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, राष्ट्र र जनताप्रति समर्पित रही शपथ खुवाएपछि पोखरेलले प्रदेशसभाका अन्य सदस्यलाई सामूहिक रुपमा शपथ गराए । नेपाली काँग्रेसबाट समानुपातिकबाट छनोट भएका पोखरेलको जन्म विसं १९९५ माघ १९ गते प्यूठानमा भएको हो । उनी रुपन्देहीबाट प्रदेशसभा सदस्यमा समानुपातिकमा चयन भएका थिए ।

अस्थायी मुकाम बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा स्थापित प्रदेशसभा संसद्को कार्यालयमा प्रदेश सदस्यको शपथ कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा प्रदेशमा प्रत्यक्षतर्फ निर्वाचित ५२ र समानुपातिकतर्फका ३३ प्रदेश सदस्यले शपथ लिएका छन् । नेकपा (एमाले)बाट समानुपातिकमा निर्वाचित अर्घाखाँचीकी जालपा भुसाल र राष्ट्रिय जनता पार्टीकी बिन पन्त आजको शपथ कार्यक्रममा उपस्थित हुन नसकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ
प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिएका छन् ।

प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई संविधान, राष्ट्र र जनताप्रति समर्पित रहन शपथ खुवाएपछि सरावगीले १ नं प्रदेशसभाका सदस्यलाई सामूहिक रुपमा शपथ खुवाएका थिए ।

सो अवसरमा प्रदेशका ५६ प्रत्यक्ष र ३७ समानुपातिक प्रदेश सदस्यले शपथ लिएका थिए । नेपाली काँग्रेसबाट समानुपातिकबाट छनोट भएका सरावगीको जन्म विसं २००० चैत ३० गते झापाको भद्रपुरमा भएको हो ।

शपथका अवसरमा क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, प्रतिनिधिसभाका सदस्य, पूर्वसांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीश, सुरक्षाकर्मीका उच्च पदाधिकारी, कार्यालय प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, समाजसेवीलगायतको उपस्थिति थियो ।

शपथमा जे देखियो
मञ्चमा १ नं प्रदेशका विशिष्ट व्यक्तिको तस्वीर राखिएको थियो । सबैभन्दा माथि राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर राखिएको थियो । त्यसपछि एक लहरमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, झलनाथ खनाल र केपी शर्मा ओलीको तस्वीर राखिएको थियो ।

शपथका लागि उपस्थित अधिकांश सभासद् दौरासुरुवाल र गुन्युचोलीमा सहभागि थिए । कुनै आदिवासी जनजातिका महिला सदस्य आआफ्ना लिम्बू र धिमालको संस्कृति झल्किने पोशाकमा थिए । एक पुरुष सदस्यले टाउकामा फेटा बाँधेका थिए । संघीय समाजवादी फोरम नेपालका प्रदेश सदस्य भने कुर्ता, पाइजामा र गम्छामा उपस्थित भएका थिए ।

प्रदेश नं ३ मा शपथ सम्पन्न
मकवानपुरको हेटौँडामा ३ नं प्रदेशका सांसदले शपथ ग्रहण लिएका छन् ।

आज बिहान १० बजे ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा ‘ख’ का सदस्य डोरमणि पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ गराएपछि सांसद पौडेलले १०९ सांसदलाई क्षेत्रीय शिक्षा निर्देशनालयको सभाकक्षमा बिहान ११ बजे शपथ गराएका थिए ।

हेटौँडामा ३ नं प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका ११० सांसदले शपथ लिएका हुन् ।

प्रदेशसभा ज्येष्ठ सदस्यद्वारा शपथग्रहण
यसैबीच प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई शपथग्रहण गराएका हुन् ।

समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल,पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार