ज्यानमाथि खतरा रहेको भन्दै सिलवालले निकाले विज्ञप्ति


Share This

नेपालबहस संवाददाता    

११ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी एवंम् ललितपुर १ बाट निर्वाचित सांसद नवराज सिलवालले देउवा नेतृत्वको सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् । उनले प्रेस विज्ञप्ति जारी गरी कामचलाउ सरकारको इशारामा वर्तमान प्रहरी नेतृत्वले आफ्नो जिउज्यानमाथि पटक–पटक धावा बोल्न खोजेको बताएका छन् ।

बुधबार एक विज्ञप्ती जारी गर्दै सिलवालले सरकार र राज्य संयन्त्रहरु आफूविरुद्ध लागेकाले आफू असुरक्षित भएको विज्ञप्तिमा उल्लेख गरेका छन्। सरकारी कागजात किर्ते गरेको अभियोग लागेका सिलवाललाई प्रहरीले इन्टरपोल मार्फत पक्राउ पुर्जी जारी गरेको छ भने नेपालका सबै प्रहरी कार्यालयहरुलाई पक्राउ गर्न निर्देशन दिएको छ। फरार अवस्थामा रहेका सिलवालले कहाँबाट विज्ञप्ति जारी गरेको उल्लेख छैन। उनले विज्ञप्तिमा आफूले किर्ते नगरेको दावी गरेका छन्। उनले सर्वोच्च अदालतमा पेश भएका फरकफरक कार्यसम्पादन मूल्यांकन फाइलहरुबारे छानविन हुनुपर्ने माग गरेका छन्। साथै, उनले सरकार र प्रहरी लगायत राज्यका संयन्त्रहरुले सरकारी कागजातहरु फेरबदल गरेको आरोप लगाएका छन्।

सिलवालले आइजीपी नियुक्ति प्रकरणमा अदालतमा पेश भएका कागजातहरुको सन्दर्भमा अहिलेको सरकार तथा प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुन नसक्ने जिकिरसमेत गरेका छन् ।उनले अहिलेको प्रहरी नेतृत्व र सरकारसँगै आफूले लडेका कारण उनीहरुबाट निष्पक्ष छानविन नहुने बताएका छन्।

सिलवालले विज्ञप्तिमा भनेका छन्– जुन मान्छे यो सम्पूर्ण घटनाक्रममा मेरो विपक्षी रहेको छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरुलाई निर्दोष सावित गरी मलाई प्रहार गर्ने जुन खेल भैरहेको छ, त्यसको अन्त्य हुनुपर्दछ र निश्पक्ष निकायवाट भोलि हुने अनुसन्धानलाई एउटा निस्कर्षमा पुर्‍याउन सबै प्रकारले सहयोग गर्न म तयार छु ।

उनले यो वीचमा आइजीपी नियुक्ति प्रकरणका महत्वपूर्ण सरकारी कागजातहरु फेरबदल भएको भन्दै त्यसका दोषीहरुमाथि छानविन र कारवाही हुनुपर्ने बताएका छन् । किर्ते गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई शेरबहादुर देउवा सरकारले पुरस्कृत गरिरहेको आरोप समेत उनले लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ– नेपाल प्रहरीको कर्मचारी प्रशासनसम्वद्ध गोप्य दस्तावेजहरुमा मेरो पहुँच पुग्ने र त्यसलाई मैले सच्च्याउने सम्भावना एउटा काल्पनिक कथ्य मात्र हो । त्यसमाथि, यसअघिको प्रहरी नेतृत्व शुरुदेखि नै मलाई प्रहरी महानिरीक्षक हुन नदिने प्रपञ्चका साथ योजनावद्ध ढंगले क्रियाशील रहेको यथार्थ अब आम जानकारीको विषय भइसकेको छ । यस्तो अवस्थामा, प्रहरी मुख्यालयमा सुरक्षित, सोही अवधिको गोप्य फाइलमा मैले किर्ते गर्नसक्ने कुरा कसरी सम्भव होला ?

सिलवालले आफूविरुद्ध संलग्न गृहमन्त्रालय र प्रहरी संगठनका सबैलाई वर्तमान सरकार र खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अनेकौं प्रपञ्च र तिकडम गरेर पुरस्कृत गरेको आरोप लगाएका छन् । ‘यो फेहरिस्तले पनि यस्तो गैरकानुनी कार्यमा को–को संलग्न थिए भन्ने अनुमान लगाउन गाह्रो छैन’ उनले भनेका छन् ।

निर्वाचनमा जनमत गुमाएको कामचलाउ सरकारले जसरी पनि आफू सत्ताबाट बाहिरनुअघि नै आफ्नो करिअर समाप्त पार्ने र बदनाम गर्ने अधैर्य व्यवहार देखाएको आरोप उनले लगाएका छन् ।

सांसद सिलवालले भनेका छन्– प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा गरेको अनावश्यक अस्वस्थ चलखेलकै कारण वर्तमान सरकार बदनाम भएको र चुनाव हार्नुको एउटा मुख्य कारण यही भएकाले प्रतिशोधवस ममाथि आक्रमण भएको अनुभव पनि मलाई भएको छ ।

सिलवालले यही सरकार रहेको अवस्थामा किर्ते मुद्दामा निष्पक्ष छानविन हुनेमा आफूलाई आशंका रहेको उल्लेख गरेका छन्। उनले अर्को सरकारले छानविन गर्ने र त्यसमा आफू सघाउन तयार रहेको उल्लेख गरेका छन्। प्रहरी महानिरीक्षक नियुक्तिका क्रममा सिलवालले आफू कार्यसम्पादन मूल्याकंनमा एक नम्बरमा रहको भन्दै प्रमाणस्वरुप पेश गरेका कागजात किर्ते गरिएकोले उक्त विषयमा छानविन गरेर दोषीलाई कारबाही गर्न प्रहरीलाई आदेश दिएको थियो। त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाल विरुद्ध पक्राउ पुर्जी जारी गरेर देशभरका प्रहरी कार्यालयमा पठाउनेदेखि इन्टरपोलमार्पत डिफ्युजन नोटिस जारी गर्नेसम्मका प्रक्रिया अगाडि बढाएको छ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार