भारतीय विदेश मन्त्री स्वराज स्वदेश प्रस्थान


Share This

नेपालबहस संवाददाता    

१९ माघ, काठमाडौं । भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेकी छिन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गरेका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीसँग भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले आज अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गरेकी थिइन् ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिलाविज्ञ डा मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीका साथै मन्त्री स्वराजको भ्रमण दलका सदस्यहरुको उपस्थिति थियो ।

देउवासँग बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले मैत्रिपूर्ण भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध आगामी दिनमा अझ सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गरे ।

भेटमा विदेशमन्त्री स्वराजले नेपालले नयाँ संविधानअनुसार स्थानीय, प्रादेशिक र राष्ट्रिय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै यसले नेपालमा लोकतन्त्र संस्थागत होस् भनी शुभकामना दिएको परराष्ट्र सल्लाहकार डा भट्टराईले बताए ।

 

दुईदिने नेपाल भ्रमणका लागि हिजो आइपुगेकी भारतीय विदेशमन्त्री स्वराजले एमाले अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई भेटेर कुराकानी गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार