राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक


Share This

नेपालबहस संवाददाता    

२६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन आगामी आइतबार पेश गर्ने भएको छ ।

आयोगका सचिव वेगेन्द्रराज शर्माले निर्वाचन आयोगमा आयोजित पत्रकारसम्मेलनमा राष्ट्रियसभा सदस्यमा राजनीतिक दलले प्राप्त गरेको सिट संख्याबारे आज औपचारिक जानकारी दिँदै उक्त कुरा बताएका हुन् ।

उनका अनुसार, राष्ट्रियसभा सदस्यमा २१ महिला र ३५ जना पुरुष निर्वाचित भएका छन् । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते भएको थियो ।

उक्त निर्वाचनमा नौ राजनीतिक दलले भाग लिएकामा नेकपा एमालेका ११, नेपाली काँग्रेसका ६, माओवादी केन्द्रको तीनजना महिला र अर्का एक दलका एकजना निर्वाचित भएका थिए ।

राष्ट्रियसभा सदस्यमा नेकपा एमाले २७, नेपाली काँग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी २ र संघीय समाजवादी पार्टी नेपाललका २ जना उम्मेदवार निर्वाचित भएका छन् ।

मुलुक प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभामा तीन जनालाई भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

प्रदेश नं ३ का सभामुखमा श्रेष्ठले उम्मेदवारी दिने
नेकपा (एमाले) का तर्फबाट प्रदेश नं ३ को प्रदेशसभाका सभामुखमा सानुकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

एमाले र नेकपा (माओवादी केन्द्र) बीचको सहमतिअनुसार सभामुखमा एमाले र उपसभामुखमा केन्द्रले उम्मेदवारी दिनेछन् । कूल ११० सदस्य रहेको सो प्रदेशसभामा एमालेसँग मात्रै बहुमत (५८ सदस्य) छ । प्रदेशको अस्थायी मुकाम हेटौँडामा शनिबार ३ः०० बजे बस्ने प्रदेशसभाको दोस्रो बैठकमा सभामुखको निर्वाचनको कार्यसूची तय गरिएको छ । एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य श्रेष्ठले आफूलाई पार्टी नेतृत्वले सभामुखमा उम्मेदवारी दिन निर्देशन दिएको जानकारी दिए । केन्द्रबाट उपसभामुखमा राधिका तामाङ उम्मेदवार हुने तय भएको छ ।

प्रदेश नं २ का दलित महिला पछाडि
मुलुकका सातै प्रदेशमध्ये प्रदेश नं २ का महिला र दलित महिला पछाडि परेको एक कार्यक्रमका वक्ताले आज बताएका छन् ।

महिलावादी मञ्चको आयोजनामा त्यहाँ भएको ‘महिलाको स्थानीय तहको हक र अधिकार’ विषयको कार्यक्रममासांसद लीलानाथ श्रेष्ठले पछाडि परेका महिलाको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सरकारी निकायमा आरक्षण हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, वीरगन्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की, प्रदेशसभा सदस्य अशोक यादव र नरेश यादव, लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरीलगायतले संविधानले महिलाको स्थानीय तहमा ४० प्रतिशत र र केन्द्रमा ३३ प्रतिशत अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा महिला पछाडि परेको बताए ।

कार्यक्रममा प्रदेश नं २ का नगर उपप्रमुख, गाउँपालिका उपप्रमुख, महिला सदस्यलगायत २०० महिलाको सहभागिता छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार