प्रहरी प्रशिक्षण प्रतिष्ठानको २६औं वार्षिकोत्सव सम्पन्न, प्रहरीको भवन उद्घाटन


Share This

नेपालबहस संवाददाता    

२७ माघ, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको २६औं वार्षिकोत्सवको अवसरमा पुनर्मिलन, भातृत्व र सहकार्यको भावसहित आज ‘हिँडौंँ साथ साथ ’कार्यक्रम आयोजना गरिएको छ ।

प्रहरी महानिरीक्षक प्रकाश अर्याल र पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहद्वारा बेलुनमा बाँधिएको “हिँडौंँ साथ साथ” लेखिएको ब्यानर संयुक्त रुपमा उडाएर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले नेपाल प्रहरीको विगत, वर्तमान र भविष्यका योजनाबारेमा प्रकाश पारे ।

कार्यक्रम समापनको अवसरमा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहले प्रहरी अधिकृतमा सामूहिक तथा भाइचाराको भावना विकास गर्ने यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने भनाइ राखे ।

उक्त प्रतिष्ठानबाट पेशागत तालीम प्राप्त गरी विभिन्न समयमा दीक्षित भई व्यावसायिक जीवनको विभिन्न तह र तप्कामा पुगेका प्रहरी अधिकृत र सेवानिवृत्त प्रहरी अधिकृत बीचमा बन्धुत्वभाव जगाउँदै समन्वय र सहकार्य सदैव कायम राख्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

दंगा नियन्त्रण प्रहरी गणको भवन उद्घाटन
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल–३ कीतिर्पुरमा प्रदेशस्तरीय दंगा नियन्त्रण प्रहरी गणको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ ।

नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले साधन र स्रोतको सीमित उपलब्धतामा पनि जनताको जीउ धनको सुरक्षामा कुनै पनि कसर बाँकी नराख्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले प्रहरीले सधैँ आफ्नो कार्यशैली नागरिकमैत्री र नागरिकप्रतिको आचरण तथा व्यवहारलाई विवादरहित बनाउनुपर्ने बताए ।

भवन निमार्णपछि अब सोही क्षेत्रमा ६०० जना प्रहरी दरबन्दीमा रहने भएका छन् । करिब २० बिघा क्षेत्रफलमा रहेको गणमा कार्यालय भवन, क्वार्टर गार्ड, ब्यारेक भवन, मेश भवन, ट्रेड शप, प्रहरी उपरीक्षक निवास तयार भइसकेका छन् भने अन्य केही आवश्यक भवन पनि निर्माणाधीन अवस्थामा छन् । यसअघि दंगा नियन्त्रण गण रुपन्देहीको बुटवल धागो कारखाना परिसरमा भाडामा बसेको थियो ।

भवन निर्माण गर्न करिब रु सात करोड खर्च भइसकेको छ । ती भवनको निर्माण कार्य २०७१ सालबाट प्रारम्भ भएको र हालसम्म तीन प्याकेजमा निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार