गल्छी–त्रिशूली सडक अब दिउँसोमात्र बन्द, नारायणगढ–मुग्लिन सडक निर्माणमा अन्यौलता कायमै


Share This

नेपालबहस संवाददाता    

२९ माघ, काठमाडौं । चीनसँगको नाका रसुवागढी जोड्ने सडकको निर्माणको लागि गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डकको सडक अब दिउँसोमात्र बन्द गरिने भएको छ ।

फागुन १ गतेदेखि सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन भन्दै दिउँसो ११ बजेदेखि ५ बजेसम्म बन्द गरिने भएको गल्छी–त्रिशूली–मैलु–स्याफ्रुेबँशी–रसुवागढी सडक योजनाले जनाएको छ ।

यसअघि गएको पुस १ गतेदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो । बिहानको समयमा काठमाडौँ जानेको चाप बढी हुने भएकाले बिहानको सडक बन्द नगर्न नागरिक तथा यातायात व्यवसायीले माग गरेपछि सडक बन्द गरिने समय परिवर्तन गरिएको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले बिहानको बन्द हटाएर दिउँसो एक घण्टा थप गरी सडक बन्द गरी निर्माण कार्यलाई अघि बढाउने निर्णय गरेको हो । सडक योजनाले यस अवधिमा वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ । धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँशीसम्म ८२ किलोमिटर सडकमध्ये ४६ किलोमिटर क्षेत्र स्तरोन्नतिको काम भइरहेको छ । रु नौ अर्ब लगानी रहेको सो योजनाअन्तर्गत सडकको दायाँबायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ ।

मिति सकिनै लाग्दा पनि काममा अन्योल

उता नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका लागि तोकिएको समय सकिनै लाग्दा भित्तो काट्ने कि क्यान्टिलिभर (सडकभन्दा बाहिर टप निकाल्ने कार्य) राख्ने भन्ने विषयमा अन्योल भएको छ । उक्त सडकखण्डको मुग्लिन नजिक भिरमा यसअघि क्यान्टिलिभर राख्ने भनिए पनि अझै निर्णय हुन सकेको छैन ।

ठेकेदार कम्पनीले बढी रकम माग गरेपछि टुंगोमा पुग्न नसकेको आयोजना स्रोतले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले मुग्लिनदेखि नारायणगढतर्फ चेपाङडाँडासम्मको नौ ठाउँमा गरी १२३ मिटर क्षेत्रमा क्यान्टिलिभर राख्नु पर्ने देखिएको बताए । ती ठाउँमा क्यान्टिलिभर राख्ने विषयमा ठेकेदार कम्पनीसँग आर्थिक कुरा नमिल्दा ठेक्का मिति सकिन लाग्दासमेत टुंगोमा नपुगेको हो ।

आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार क्यान्टिलिभर राख्ने भनिएका ठाउँमा अग्ला पहाड छन् । सो क्षेत्रमा ५ दशमलव ५ मिटर फराकिलो सडक थियो । केही भित्तो काटेर ७ दशमलव ५ मिटर फराकिलो बनाइएको छ ।

खनालका अनुसार ती क्षेत्रमा नौ मिटर फराकिलो सडक बनाउनु पर्ने हुन्छ । सडक छेउको पहाड ५३ मिटरसम्म अग्लो भएकाले भित्तो काट्न कठिन भएको उनले बताए । क्यान्टिलिभरबाट एक दशमलव ६५ मिटरसम्म फराकिलो बनाउन सकिने छ । नपुग चौडाइका लागि केही भित्तो काट्न सकिने हुँदा क्यान्टिलिभर नै उपयुक्त हुने आयोजनाको ठम्याइ छ ।

सो क्षेत्रमा सडकभन्दा तल त्रिशूलीसम्म पनि ठाडो भिर छ भने माथि पनि ठाडै पहाड छ । ठूला ठूला आरसिसी स्ल्याब निर्माण गरी सडकभन्दा बाहिरसम्म पुग्ने गरी बिछ्याएर सडक चौडा बनाउने प्रविधि क्यान्टिलिभर हो । नेपालमा हालसम्म भएकाभन्दा उच्चस्तरको क्यान्टिलिभर त्यहाँ निर्माण गर्ने योजना बनाइएको छ । क्यान्टिलिभर उठाउने, जडान गर्नेलगायतका काममा थप रकम ठेकेदारलाई दिनुपर्ने हुन्छ । जसका लागि ठेकेदार कम्पनीले रु पाँच करोडभन्दा बढी माग गरेको आयोजना स्रोतले जनाएको छ । आयोजनाले यसरी काम थप हुँदा सरकारी नियमअनुसार मात्रै दिने जनाउँदै आएको छ ।

उक्त क्षेत्रको ठेक्का सुप्रिम रौताहा जेभीले पाएको छ । आयोजनाको ठेक्का मिति आउँदो साता सकिँदैछ तर ठेकेदार कम्पनीले गतवर्षको वर्षात्, स्थानीय, प्रदेश र संघको निर्वाचन, चाडपर्वलगायतका कारण काम गर्न नपाएको भन्दै समय थप माग गर्दै आएको छ ।

हालसम्म तीन वटा खण्डमा गरेर १७ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको छ । उक्त सडक ३३दशमलव २ किलोमिटर लामो छ । सो सडक तीन तह कालोपत्र गरिँदै छ । समग्रमा उक्त सडकखण्डमा ७४ प्रतिशतमात्रै काम भएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार