जाडो छल्न बाहिरिएका मनाङवासी जिल्ला फर्कन थाले, मुस्ताङमा दोस्रोपटक हिमपात


Share This

नेपालबहस संवाददाता    

२९ माघ, काठमाडौं । पुस महिना लागेसँगै हिमपात र अत्यधिक चिसो छल्न जिल्ला बाहिर गएका मनाङका वासिन्दा विस्तारै घर फर्किन थालेका छन् ।

मंसिर महिनामा घरको सबै कामकाज सकेर जाडो छल्नका लागि जिल्ला बाहिर जाने प्रचलन रहेको छ ।

व्यापारिक प्रयोजनका लागि हिमाली जडीबुटी निरमसी, जिम्फू, पाँचऔंलेजस्ता जडीबुटी बोकेर गएका मनाङ्गेहरु व्यापार सकेर जिल्ला फर्कन थालेका छन् । जाडोको मौसम सकिएलगत्तै जिल्लामा रहेका विद्यालय शुरु हुने र आन्तरिक तथा बाह्य पर्यटकको याम शुरु हुने भएकाले उनीहरु आफ्ना व्यवसाय सञ्चालन गर्न पुगेका हुन् ।

मौसममा सुधार भई आकाश खुलेर हिमालमा चमक आएपछि मनाङमा मौसम शुरु भयो भनेर बुझिन्छ । वर्षको एक पटकमात्र खेती हुने यस जिल्लामा जाडो सकिएसँगै नयाँ बालीको मौसम शुरु हुने भएकाले पनि मानिस खेती लगाउन जिल्ला फर्कने गर्छन् ।

मुस्ताङमा हिमपात
हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि हिमपात भइरहेको छ ।
जिल्लाको मुक्तिनाथ, उप्पलो मुस्ताङ र कोरलामा यस वर्ष दोस्रो पटक हिउँ परेको हो । हालसम्म हिउँ पर्ने क्रम जारी रहेको अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना लोमानथाङका प्रमुख तुलसी दाहालले जानकारी दिए ।

लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । उप्पलो मुस्ताङका सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् ।

हिमपातसँगै हुरीबतास पनि चलेको लोमानथाङ प्रहरी चौकीका प्रहरी जवान राजकुमार श्रेष्ठले बताए । एक फिट बाक्लो हिउँ जमेको छ । हिमपातपछि थोरङपास, मुक्तिनाथ, लोमानथाङ, छोसेर, छोनुप, फुवा, नेच्युङ भन्सालगायत ठाउँमा यातयात अवरुद्ध भएको छ । चिसोका कारण नेच्युङ भन्सारमा हाल प्रहरी र कर्मचारी बस्दैनन् ।

हिउँ परेपछि मुस्ताङमा स्याउखेती फष्टाउने, जौ, गहुँ, उवा, फापरलगायत बालीमा सिँचाइ हुने भएकाले कृषक खुशी भएका हुन् । उप्पलो मुस्ताङ र मुक्तिनाथमा पर्यटक हिउँ खेल्न पाउँदा दंग छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार