प्रदेश नं.१ को मुख्यमन्त्रीमा राई नियुक्त, ५ मा सभामुख निर्विरोध


Share This

नेपालबहस संवाददाता    

२ फागुन, काठमाडौं । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त भएका छन् ।

प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गगरेका हुन् ।

एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले राईलाई नियुक्तिपत्र प्रदान गरेका हुन् । उनले भोलि बिहीबार वीरेन्द्र सभागृहमा शपथ ग्रहण गर्ने र भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

प्रदेश नं ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित
प्रदेश नं ५ को सभामुखमा रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित सदस्य पूर्णबहादुर घर्ती निर्वाचित भएका छन् । प्रदेश नं ५ को आज बसेको बैठकले घर्तीलाई प्रदेशसभा सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।

सभामुख पदका लागि हिजो भएको उम्मेदवारी दर्तामा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन भएको सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घोषणा गरे ।

आजको बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक दधिराम न्यौपानेले पेश गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेपछि सभामुख बलदेव शर्मा पोखरेलले निर्वाचित भएको घोषणा गरेका हुन् ।

रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित घर्ती पूर्वी रुकुम जिल्ला भूमे गाउँपालिका–९ का स्थानीय बासिन्दा हुन् । बुबा वीरबहादुर घर्ती र आमा जयकली घर्तीका छोराको रुपमा २०२४ असार २९ गते उनको जन्म भएको हो । उनकी श्रीमती सीता आचार्य र एक छोरी लिचुन घर्ती मगर छिन् ।

विसं २०३७ मा अनेरास्ववियुको सदस्यता प्राप्त गरेपछि वामपन्थी राजनीतिमा लागेका घर्तीले २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत जिम्मेबारी सम्हालेका थिए । पछिल्लोपटक उनी नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य समेत रहेका थिए ।

साहित्य र जनवादी गीत संगीतमा दख्खल राख्ने घर्तीले २०४७ देखि २०५२ सम्म सामना परिवार र जनसांस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही विशेषत राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

आजको बैठकले फागुन ६ गते उपसभामुखको निर्वाचनको मितिसमेत तोकेको छ । अर्को संसद् बैठक फागुन ६ गते १ बजे बस्ने भएको छ ।

सभामुख चयन भएपछि घर्तीले नयाँ जिम्मेवारी पूरा गर्न सबै पार्टी र सांसदसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

उनले मुलुकमा संघीय गणतन्त्र स्थापना भएको अवस्थामा नयाँ जिम्मेवारी थपिएको बताए । उनले अहिले कार्य क्षेत्र फरक भएको जनताप्रति, राष्ट्रको समृद्धिप्रति र जनताको अधिकारलाई सुनिश्चित गर्ने अभिभारा पूरा गर्ने प्रतिबद्धता नै पहिलो हुने बताए ।

सभामुख घर्तीले प्रदेश नं ५ को विकासका लागि समृद्धि नै मुख्य हुने बताउँदै त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउदै सबैको सामूहिक चाहना र प्रतिबद्धता रहने बताए ।

उनले प्रदेश नं ५ मा समृद्धिका मुख्य आधार जल, जमिन, कृषि, पर्यटनलगायत ऐतिहासिक धरोहरमा यो प्रदेश धनि भएको त्यसलाई संरक्षण, संवद्र्धन गरेर योजनावद्ध विकासका खाका बनाएर काम गर्न सकिने बताए ।

सभामुख घर्तीले प्रदेश नं ५ को स्थायी राजधानी जनतालाई सहज हुनेगरी सबैको सहमतिमा यसको टुंगो लगाइने समेत स्पष्ट पारे।

नवनिर्वाचित सभामुख घर्तीलाई आजनै प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको शपथ गराउने छन् । शपथ ग्रहण समारोह प्रदेश प्रमुखको सचिवालयमा अहिले बेलुका ४.३० बजेलाई तय गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार