प्रदेश नं २ को मुख्यमन्त्रीमा राउत, सभामुखमा यादव निर्विरोध


Share This

नेपालबहस संवाददाता    

२ फागुन, काठमाडौं । प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् ।

राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए । प्रदेश प्रमुख रत्नेश्वर कायस्थले आज फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा राउतलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।

कायस्थले मन्त्रिपरिषद् विस्तारका लागि समेत राउतलाई पत्र दिएका छन् । योसँगै मन्त्रिपरिषद्को लागि बाटो खुलेको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि राउतले संक्षिप्त प्रतिक्रिया दिँदै भने–“मधेसी शहीदको सपना साकार भएको छ ।”

फोरम नेपालको संसदीय दलका नेता समेत रहेका राउतले बिहीबार शपथग्रहण गर्ने छन् । पर्साबाट प्रदेशसभामा निर्वाचित राउत संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष थिए ।

राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति बनेका छन् ।

प्रदेश नं २ को सभामुखमा सरोजकुमार यादव निर्विरोध
प्रदेश नं २ को प्रदेशसभाको सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज भएको तेस्रो बैठकमा सो जानकारी दिइएको हो । निर्धारित समयभन्दा ४५ मिनेट ढिलो शुरू भएको बैठकमा अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ र नेपालको संविधानको धारा १८२ को उपधारा (३) उपदफा (२) बमोजिम प्रस्तावको सूचना एउटा मात्र प्राप्त भएको जनाउदै यादवलाई निर्विरोध घोषणा गरेका हुन् ।

बैठक १ः४५ देखि १ः५५ सम्म बसेको थियो । बैठकमा ज्येष्ठ सदस्य चौधरीले सभामुखको निर्वाचनको प्रस्तावका लागि प्रदेशसभा सदस्य एंव राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता जीतेन्द्रप्रसाद सोनारलाई अनुमति दिएपछि उनले यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे, भने संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतले सो प्रस्तावको समर्थन गरेका थिए ।

बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि,२०७४ को दफा ७ को उप दफा (१) बमोजिम प्रदेशसभाको उपसभामुखको निर्वाचन यही फागुन ४ गते निर्धारण गरेको छ । प्रदेशसभाको अर्को बैठक यही फागुन ४ गते दिउँसो १ः०० बजे बस्ने छ ।

निर्विरोध निर्वाचित भएका सभामुख यादवले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको सहयोग लिई कार्य सम्पादनलाई प्रभावकारी बनाउने बताएका छन् । आफू निष्पक्ष, कानूनसम्मत् ढंगले कार्य गर्ने बताउदै उहाँले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबै पक्षको अग्रसरतामा जोड दिए । स्थायी राजधानीका बारेमा सभाले यथाशीध्र निर्णय गर्ने विश्वाससमेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार