प्रम ओलीबाट शपथ, शेख हसिनाले दिइन् भ्रमणको निम्तो


Share This

नेपालबहस संवाददाता    

३ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायत सहभागी थिए ।

प्रम ओलीबाट शहीदप्रति श्रद्धाञ्जलि
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद उद्यानमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलगत्तै प्रधानमन्त्री ओलीले शहीद उद्यान पुगी शहीदप्रति पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्री ओलीसँगै नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा पनि साथमा थिए ।

बंगलादेश भ्रमण गर्न प्रम ओलीलाई निम्तो
प्रधानमन्त्री केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीभएकामा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री ओलीलाई बंगलादेशका प्रधानमन्त्रीले आज बधाई सन्देश पठाउँदै नेपाल र नेपाली जनताको कल्याणका निम्ति नेता ओलीले निर्वाह गरेको भूमिकाको नेपाली नागरिकले उच्च मूल्यांकन गरेको बताएकी छिन् ।

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालको राजनीतिक नेतृत्वबाट प्राप्त सहयोग र समर्थनको स्मरण गर्दै प्रधानमन्त्री हसिनाले दक्षिण एशियाको शान्ति र समृद्धिका लागि प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएकी छिन् । उनले प्रधानमन्त्री ओलीलाई यथाशक्य चाँडो उपयुक्त समयमा बंगलादेश भ्रमण गर्न पनि आमन्त्रण गरेकी छिन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार