६८ औं प्रजातन्त्र दिवसका अवसरमा प्रम ओली सहित नेताहरुले दिए शुभकामना, टुँडिखेलमा औपचारीक कार्यक्रम सम्पन्न


Share This

नेपालबहस संवाददाता    

७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । साथै, उनले दिवसका अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, “देशमा हालै सम्पन्न संघ र प्रदेश निर्वाचनमा वाम गठबन्धनलाई अत्यधिक मतले विजयी गराउनुभएको प्रति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई धन्यवाद तथा बधाई दिन चाहन्छु ।”

सन्देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक, सामाजिक रुपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार देशमा विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहन्छु भनिएको छ ।

वर्तमान सरकार आर्थिक चुनौतीको सहज व्यवस्थापन गर्दै संघीयताको सफल कार्यान्वयन गर्दै आगाडि बढ्ने र त्यसका लागि वित्तीय अनुशासन र मितव्ययिता कायम गर्दै जनताको चाहनाअनुसारका विकास कार्यक्रम तीव्रताका साथ सञ्चालन गर्न सबैको सहयोग रहने विश्वास लिएको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओली बालुवाटार प्रवेश
प्रधानमन्त्री केपी शर्मा ओली हिजो साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन्।

साँझपख बालुवाटार सरेका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गतबर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको वृक्ष रोपेका थिए । १९ महिनापछि सोही पीपलको बिरुवामा जल सिञ्चित गर्दै बालुवाटार प्रवेश गरेका थिए ।

बिहीबार प्रधानमन्त्री बनेका ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्दै आएका थिए । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासबाट सरेपछि प्रधानमन्त्री ओली सरकारी निवासमा पुगेका हुन् ।

प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा प्रवेश गर्दा पार्टीका नेता, कार्यकर्ता तथा सरकारी कर्मचारीले स्वागत गरेका थिए ।

उपराष्ट्रपतिद्वारा प्रजातन्त्र दिवसको शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आज दिएको एक सन्देशमा उनले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने ती महान् वीर वीराङ्गनाहरुलाई स्मरण गर्दै उनीहरुप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

सन्देशमा उनले विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिहरु संस्थागत हुने क्रम तथा नयाँ संविधानको पूर्ण कार्यान्वयनका क्रममा स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भई सबै तहमा नयाँ सरकार गठन भइसकेको पनि उल्लेख गरेका छन् ।

उनले यससँगै धेरै वर्षदेखिको राजनीतिक संक्रमणकाल अन्त्य भई नेपालमा राजनीतिक स्थायित्व प्रारम्भ भएको र मुलुक आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

उनले प्रजातन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रतालाई अझ बलियो बनाउँदै आर्थिक समृद्धिका लागि सहकार्य गर्न सबै तहका सरकार, राजनीतिक दललगायत सबै पक्षलाई अपिल पनि गरेका छन् ।

आज प्रजातन्त्र दिवस मनाइँदै
विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।

एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा भएको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

विसं २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ ।

प्रजातन्त्र दिवसमा नेताहरुबाट शुभकामना सन्देश
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सकेमात्र शहीदप्रतिको सम्मान हुने बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा आज जारी गरेको शुभकामना वक्तव्यमा उनले देशमा प्रजातन्त्र÷लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो संघर्षमा अनेकौँ सपुतले प्रजातन्त्र÷लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै सम्पूर्ण शहीदको त्याग र बलिदानको संस्मरण गरेका छन् ।

फागुन ७ गते नेपाली जनसंघर्षको इतिहासको एक अविस्मरणीय दिन भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री देउवाले विसं २००७ को कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको उल्लेख गरेका छन् ।

उनले देशमा केबल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूलरूपमा अग्रगामी परिवर्तन ल्याएको भन्दै जातजाति, धर्म, लिङ्ग वा वर्गका आधारमा हुने भेदभाव हटाएर शोषणरहित समाज निर्माणमा मुलुकलाई अग्रसर गराएको बताएका छन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले पनि राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष राणाले आज विज्ञप्ति जारी गरेर प्रजातन्त्रप्राप्तिका लागि प्राण उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि दिनुभएको छ । मुलुकमा स्थापित राजनीतिक प्रणालीअनुसार राज्यको सबै तहमा निर्वाचित जनप्रतिनिधि बहाल भइसकेको अवस्थामा देशको समृद्धि र जनताको विकासका लागि दल क्रियाशील हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पनि आज विज्ञप्ति जारी गरी उक्त दिवसले मुलुकको राष्ट्रिय अखण्डताको रक्षा गरी समृद्ध नेपाल बनाउने विषय सबै दलको साझा मुद्दा निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारी टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएकी थिइन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शहीदमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएकी थिइन् ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु एवम् संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार