वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट नहुँदा काँग्रेस पराजित, विश्वप्रकाशले दिए प्रम ओली एक्लिने चेतावनी !


Share This

नेपालबहस संवाददाता    

७ फागुन, काठमाडौं । वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट नहुँदा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस पराजित भएको बुद्धिजीवीले बताएका छन् ।

गणेशमान सिंह अध्ययन केन्द्रले आयोजना गरेको ‘सशक्त विचार र सुदृढ संगठनको काँग्रेस’ विषयक छलफलमा सहभागी वक्ताले विधि र विधानमा पार्टी चल्न नसकेकाले काँग्रेसले हार व्यहोरनु परेको बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले पार्टीको नीति र कार्यक्रम लिएर आम जनतासमक्ष जान नसके काँग्रेसको भविष्य समाप्त हुने बताउँदै उनले भने– “पार्टीको नीति कार्यक्रम आम जनतासमक्ष लैजानका लागि केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान गठन गर्नुपर्छ,” ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले पार्टी कार्यकर्तालाई बाँच्ने आधार तय गरेर संगठन निर्माण नगरेसम्म पार्टी पहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गर्दै स्थानीय तहबाटै पार्टी संगठनको पुनःनिर्माणमा लाग्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा स्वर्णिम वाग्लेले प्रविधिको समयमा पुरानो शैलीमा पार्टी चल्दा पराजय हुन पुगेको बताउँदै नयाँ पार्टी नयाँ एजेण्डासाथ मैदानमा आउँदा काँग्रेस कमजोर भयो, नयाँ युवाको मन अब काँग्रेसले जित्न सक्नुपनेमा जोड दिए ।

नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले गुट बनाएर पार्टी हस्तक्षेप गर्ने बानी काँग्रेसभित्र हुँदा पार्टी कमजोर भएको बताउँदै गुटको अन्त्य पार्टीबाट नभएसम्म विपक्षी दललाई जित्न नसकिने धारणा व्यक्त गरे ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले पार्टीभित्र दुःख गरेका व्यक्तिलाई भन्दा धन भएका व्यक्तिलाई टिकट दिँदा पार्टी कमजोर भएको स्पष्ट पारे ।

पूर्वसांसद रामहरि खतिवडा, नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष हरेराम श्रेष्ठ, डेमोक्रेटिक लयर्स एशोसियशनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौला, प्रा डा जीवराज पोखरेल, पत्रकार कविर राणा, रामजी दाहाल, खिला कार्कीलगायतले काँग्रेस सुधारका लागि क्रियाशील सदस्यबाट सुधार अभियान चलाउनुपर्नेमा जोड दिए ।

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बुद्धिजीवीबाट प्राप्त राय सुझावलाई समावेश गरी केन्द्रीय समितिमा छलफलका लागि लैजाने बताउँदै आगामी निर्वाचनमा काँग्रेसलाई स्पष्ट बहुमत ल्याउन तथा पार्टीभित्र आएको संकट समाधानका लागि सबैले एकजुट भएर अगाडी बढ्नुपर्ने आवश्यकता औल्याए ।

छलफलमा काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, इश्वरी न्यौपाने, रामकृष्ण यादव, गगनकुमार थापा, महेन्द्र यादव, धनराज गुरुङ, गोविन्द भट्टराई, कल्याण गुरुङ, पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, जीवन परियार र बद्री पाण्डेलगायतको सहभागिता थियो ।

‘अघिल्ला सरकारका निर्णय उल्ट्याउँछु भन्नु वैधानिकतामथि प्रश्न’

एक अर्को प्रसंगमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गएको सरकारले गरेको निर्णय उल्टाउँछु भन्नु वर्तमान सरकारका लागि आफ्नै वैधानिकतामाथि प्रश्न गरेसरह हुने बताएका छन् ।

बनेपामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आज प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शन कार्यक्रममा उनले विपक्षलाई पनि सँगै लैजान सके मात्रै उपलब्धि हासिल हुने कुरा उल्लेख गरे ।

कांग्रेस वर्तमान सरकारसँग सहकार्य गरेर जिम्मेवार प्रतिपक्ष बन्न तयार भएको बताउँदै उनले एक्लै हिँड्दा आफ्नै पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइराला पनि एक्लिएको उदाहरण दिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार