छुट्टाछट्टै दुर्घटनामा २ को मृत्यु, ३ घाइते


Share This


नेपालबहस संवाददाता    157 Views

१० फागुन, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी उनले दिए । सोही दुर्घटनामा परी घाइते सोलुखुम्बु जिल्ला घर भई हाल शुक्लागण्डकी नपा–४ सेराटार बस्ने २४ वर्षीया गर्भवती नितु मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खैरेनीटारबाट पोखरा जाँदै गरेको ना ५ ख १९८० नंको मिनीबस उक्त ठाउँमा सडक छेउमा दुर्घटना भएको हो । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर
उता, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा एउटा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

उनीहरुको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइँदै गरेको चितवन प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा आज बिहान ३ः५० बजेको समयमा सो दुर्घटना भएको हो ।

सुनौलीबाट काठमाडौँ जाँदै गरेको बिआर ३२ बीएन ३१०९ नंको भारतीय ट्रक ओभरटेक गर्ने क्रममा आफैँ अनियन्त्रित भई सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

ट्रक सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । अहिले उद्धारका लागि प्रहरी टोली घटनास्थलमा छन् ।
–––

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार