अमेरिकी राष्ट्रपतिले दिए प्रधानमन्त्रीलाई बधाई, ओलीलाई मन्त्री छान्न नै सकस


Share This

नेपालबहस संवाददाता    

११ फागुन, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आज प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको बताएका छन् ।

अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति ट्रम्पले स्थिरता, सुशासन र दिगो आर्थिक विकासका लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार रहेको बताए छ ।

मन्त्री चयन गर्ने अधिकार एमाले अध्यक्ष ओलीलाई
११ फागुन, काठमाडौं । नेकपा (एमाले)ले स्थायी समितिको बैठकले मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी समिति बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री चयन गर्ने अधिकार दिएको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

उनले भने, “आजको बैठकले मन्त्रिमण्डल विस्तार गर्ने क्रममा नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीसहित पार्टीभित्रका नेतासँग छलफल गरेर मन्त्री चयनको जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई दिएको छ ।”

त्यसैगरी बैठकले दुई पार्टीबीच एकताका क्रममा यही फागुन ७ गते भएको सात बुँदे सम्झौता पार्टी एकीकरणको सकारात्मक आधार भएको भन्दै अनुमोदनसमेत गरेको प्रमुख भट्टराईले जानकारी दिए ।

उनका अनुसार बैठकले पार्टी एकीकरणमा रहेकाले पार्टीका विभिन्न जनवर्गीय संगठनका अधिवेशन र सम्मेलनको मिति तय भएको भए तत्काल स्थगित गर्ने निर्णयसमेत गरेको छ तर पार्टीको सदस्यता नवीकरण तथा विस्तार र आन्तरिक प्रशिक्षणलाई भने जारी राख्न बैठकले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार