सरकारले स्वीकृतिबिना नै मुख्यमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता


Share This

नेपालबहस संवाददाता    

१६ चैत, काठमाडौं । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिबसिं पुरीले शिष्टाचार भेट गरेका छन् ।

सरकारले स्वीकृतिबिना विदेशी कूटनीतिज्ञ तथा प्रतिनिधिसँग भेटघाट नगर्न स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई निर्देशन जारी गरेको अवस्थामा उनिहरुबीच भेटघाट भएको छ ।

विदेशी कूटनीतिज्ञ तथा प्रतिनिधिसँगको भेटघाटलाई व्यवस्थित बनाउन सरकारले स्थानीय तहसम्म नै निर्देशन दिएको हो । प्रदेश तहका पदाधिकारी र कर्मचारीलाई यसअघि नै यस्तो निर्देशन दिइसकिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ जिल्ला समन्वय समिति र ७ सय ५३ स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेशी कूटनीतिज्ञसँग भेट्न परराष्ट्र मन्त्रालयको स्वीकृति लिन पत्राचार गरेको छ । सरकारले परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना हुने भेटघाटलाई अवैध मानिने भन्दै यसमा सचेत हुन आग्रह गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा भएको भेटमा मुख्यमन्त्री र भारतीय राजदूतबीच गौरीफंटा र झुलाघाट नाकाको स्तरोन्नतिको विषयमा छलफल भएको जनाइएको छ ।

प्रदेश नं ७ लाई भारतसँग जोड्ने यी पुराना नाका भएपनि स्तरोन्नति हुन सकेका छैनन् । कृषि क्षेत्रमा अगाडि रहेको भारतको कृषि प्रविधि भित्र्याउन सके प्रदेश नं ७ को कृषि क्षेत्रमा पनि प्रगति गर्न सकिने विषयमा छलफल भएको मुख्यमन्त्री भट्टले बताएका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार