टेलिकमको ‘नमस्ते क्रेडिट’ शुरु, एनसेल टावरमा आगजनी


Share This

नेपालबहस संवाददाता    

१६ चैत, काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ ।

टेलिकमद्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरे ।

कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ ।

यस्तो सापटी रकम रु पाँचदेखि रु ४० सम्म उपलब्ध हुने र सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिँदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन ।

कम्तीमा तीन महिना पहिलेदेखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । कति रकम सापटी लिन सकिन्छ भन्नेबारेमा जानकारी लिनका लागि स्टाटस लेखेर १४७७ मा एसएमएस पठाउन सकिनेछ ।

“यो सेवा बन्द गर्नका लागि स्टप लेखेर र फेरि यही सुविधा सञ्चालन गर्नका लागि स्टार्ट लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ”, प्रवक्ता वैद्यले भने । एक पटक लिएको सापटी रकम तिरेपछि मात्र अर्को पटक पनि सापटी लिन सकिन्छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिन्छ ।

सो अवसरमा राज्यमन्त्री बाँस्कोटाले नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवाको शुरुवात् गर्नु सकारात्मक भएको बताए ।

“टेलिकमले ‘नमस्ते क्रेडिट’ सेवा शुरु गर्दै आक्रामक बजार प्रवद्र्धन गर्ने नीतिको प्रारम्भिक एउटा पाइलोमात्रै हो भन्ने मैले बुझेको छु, अरु यस्ता धेरै काम टेलिकमले गर्नुपर्छ”, उनले भने ।

मन्त्री बाँस्कोटाले टेलिकमका अन्य सेवाको तुलनामा प्रिपेड सेवा अधिकांश नेपालीले प्रयोग गरिरहेकाले सो सेवाबाट कम्पनीको प्रतिस्पर्धी क्षमता र गुणस्तरीयता वृद्धि हुने विश्वास व्यक्त गरे ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीका ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने सेवाबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास बढ्ने बताए ।

एनसेल टावरमा आगजनी : दुई पक्राउ
झापा, बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् ।

आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रहरी सहायक निरीक्षक पदमसुन्दर लिम्बूले जानकारी दिए ।

उनीहरुले बुद्धशान्ति–२ खतिवडा चोकमा रहेको एनसेल टावरमा आगजनी गरेका हुन् । आगजनीबाट एउटा जेनेरेटर, टावरमा रहेको तार जलेर नष्ट भएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि बिहीबारै इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार