श्वेतपत्र जारी गर्दै अर्थमन्त्रीले भने :– अर्थतन्त्र चुनौतीपूर्ण


Share This

नेपालबहस संवाददाता    

१६ चैत, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् ।

अर्थमन्त्री डा खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ रहेको उल्लेख गरे ।

पूँजी परिचालन उचित रूपमा हुन नसकेको जानकारी गराउँदै उनले भने, “ठूला आयोजना निर्धारित समय र लागतमा निर्माण पूरा हुन सकेका छैनन्, उत्पादनमुखी भन्दा वितरणमुखी कार्यक्रम बढी देखिएका छन् ।”

सरकारले सन् २०२२ सम्म मुलुकलाई विकासशील राष्ट्रमा पु¥याउने लक्ष्य राखेको उल्लेख गर्दै उक्त लक्ष्य हासिल गर्न सबै पक्ष लाग्नुपर्ने देखिन्छ । रोजगारीमूलक र उत्पादनमूलक क्षेत्रको लगानी संकुचनसँगै थप चुनौती थपिएको बताउँदै अर्थमन्त्री डा खतिवडाले उद्योग क्षेत्र प्रतिस्पर्धी हुन नसकेको बताएका छन् ।

उनले भनेका छन्, “सरकारी लगानीका उद्योग घाटामा छन्, नेपालको श्रम बजारमा बेरोजगार बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा वित्तीय परिचालन आवश्यक रूपमा पुग्नसकेका छैनन् । तरलतामा चाप बढदै गएको छ ।”

पूँजी बजार धितोपत्रमा मात्र सीमित रहेको उल्लेख गर्दै उनले बैठकमा शेयर मूल्य प्रभावित भएको र समग्र अर्थतन्त्र आयातमुखी बनेको बताए । तयारी बिना बजेट विनियोजन गर्ने, आर्थिक वर्षको अन्तिम महिनामा विकासका काम गरेर खर्च गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले राष्ट्रसेवक कर्मचारीको निवृत्तीभरणमा धेरै लगानी भएको बताए ।

सार्वजनिक संस्थानमा सरकारले गरेको लगानीको मूल्य नपाएको भन्दै उनले सार्वजनिक संस्थानमा तलबभत्ता र अवकाशको रकम दिन बाँकी रहेको जानकारी गराए ।

विदेशीको नेपालप्रतिको सद्भाव रहेको भन्दै उनले सूचना प्रविधिको विकास गरी आर्थिक समृद्धि गर्न सकिने धारणा व्यक्त गरे ।

अर्थमन्त्री युवराज खतिवडाले आज संसदमा देशको वर्तमान आर्थिक स्थितिका सम्बन्धमा श्वेतपत्र प्रस्तुत गर्दै भनेका छन् ः– देशको आर्थिक अवस्था निकै नाजुक अवस्थामा पुगेको छ,
विदेशी लगानी अपेक्षाकृत नआएको, स्रोत नै नभएको बजेट जारी भएको छ । सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको छ ।

खतिवडाले श्वेतपत्रमा घट्दो सेयर बजारबारे समेत उल्लेख गरेका छन् । खतिवडा अर्थमन्त्री भएयता सेयर बजार निरन्तर ओरालो लागेको छ। उनले नेपालको पूँजी बजार सतही रहनुका साथै दायरा संकुचित अवस्थामा रहेको उल्लेख गरेका छन् ।

‘पूँजी बजार कारोबारको मुल्य दर्शाउने नेप्से सूचकाङ्क अस्थिर छ। संस्थागत लगानीकर्ताको न्यूनता र वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र शेयर निष्काशन तथा आपूर्तिमा भएको वृद्धिले अहिले शेयर मूल्य प्रभावित भएको छ’, श्वेतपत्रमा भनिएको छ, ‘पूँजी बजार कारोबारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी तथा लगानीकर्ताहरू र खासगरी साना लगानीकर्तामा शेयर लगानीसम्बन्धी ज्ञानको कमीले शेयर मूल्य मापन गर्ने नेप्से सूचकाङ्कमा उच्चदरको उतारचढाव आउने गरेको छ।’

अर्थमन्त्री खतिवडाले पूँजी बजारमा उत्पादनका कम्पनीहरू नहुनुलाई समेत समस्या भनेका छन् । ‘पूँजी बजारमा हाल २०८ कम्पनी सूचीकृत रहेता पनि तीमध्ये ७५ प्रतिशत वित्तीय संस्थाहरु छन् । पूँजी बजारको कूल कारोबारमा वित्तीय संस्थाहरुकको अंश ८१ प्रतिशत रहेको छ। त्यसैगरी जलविद्युत क्षेत्रको कारोबारको अंश ५ प्रतिशत, उद्योगको ३ प्रतिशत र होटलको २ प्रतिशत मात्र रहेको छ। यसले पूँजी बजारमा उत्पादन क्षेत्रका कम्पनीहरूको उपस्थिति ज्यादै न्यून रहेको तथ्य उजागर गर्दछ। अर्थतन्त्रमा साधन परिचालन गर्न पूँजी बजार सशक्त माध्यम भएतापनि यस्तो बजार हाल धितोपत्रमा मात्र सिमित रहेको छ। पूँजी बजारलाई ऋण बजारको रूपमा विकास गर्न सकिएको छैन। समग्रमा पूँजी बजारमार्फत् ठूलो परिणामको स्वलगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको छ।’

खतिवडाले श्वेतपत्रको आगामी कार्यदिशामा समग्र वित्तीय नीति मार्फत मुद्रा तथा पूँजी बजारको स्थायीत्व र समावेशी विकासमा जोड दिने उल्लेख गरेका छन् । अर्थमन्त्री खतिवडाले समग्रमा पूँजी बजार मार्फत ठूलो परिणामको स्वःलगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको श्वेतपत्रमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार