पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन


Share This

नेपालबहस संवाददाता    

१६ चैत, काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको पुष्टि गरेका छन् । उनका अनुसार खड्काको पार्थिव शरीरलार्इ नेपाल ल्याउने भन्ने बारे पार्टी र परिवारबीच कुराकानी भइरहेको छ ।

उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए ।

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो ।

उनको स्वास्थ्य स्थितिप्रति गम्भीर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।
प्रजातन्त्रका लागि सेनानीका रुपमा काम गरेका नेता खड्काको शुक्रबार बेलुकी साँझ ५ः१५ बजे दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको हो । बिद्यार्थीकालदेखि निरन्तर प्रजातन्त्रका लागि लड्दै आएका खड्काले झण्डै आठ बर्ष जेल जिवन विताएका थिए ।

बिरामी अवस्थामा समेत कांग्रेसको सक्रिय राजनिती गर्दै आएका खड्का पछिल्लो समय मृर्गौला पिडित भएका थिए । उनलाई गत ६ फागुनमा थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको थियो । ‘छाती र मृर्गौलामा देखिएको समस्या बढेपछि आइसीयुमा राखेर उपचार सुरु गरिएको थियो ।

गत ४ फागुनमा बाथरुममा लडेर छाती र मिर्गौलामा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा समस्या कम नभएपछि एपोलोमा लगिएको थियो ।

खड्काले गृह मन्त्रालय लगायत अन्य मन्त्रालय समालेका थिए । उनी नेपाली कांग्रेसको महामन्त्री समेत भएर पार्टीमा सक्रिय राजनीति गरिरहेका थिए ।

खड्काले २ बर्षअघि भएको कांग्रेस महाधिबेशनमा लोकप्रिय मत ल्याएर केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

खड्का नेपाली कांग्रेस हिन्दुराष्ट्र महाअभियानका संयोजक समेत थिए । जननायक बीपी कोइरालाका अत्यन्त ठूला अनुयायी स्वर्गीय खड्का राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी ०३३ मा नेपाल फर्किएसँगै स्वदेश आएका थिए । त्यस ताका खड्का विपीको अत्यन्तै विश्वासपात्रका रुपमा परिचित थिए । मुलुकको प्रजातन्त्रको लागि उनले लामो समय सम्म निर्वास जिवन बिताउनु परेका थियो ।

पञ्चायतविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर देश र जनताका पक्षमा काम गरेका थिए । गणतन्त्र आएपछि बनेको २०७२ को संविधानका केही विषयमा खड्काले असहमति राख्दै आएका थिए । हिन्दु राष्ट्र कायम गर्नुपर्ने उनको एजेण्डाले पछिल्ला दिनमा देशब्यापी चर्चा कमाएको थियो ।

अनेक प्रयासका वावजुद पनि खड्कालाई चिकित्सकहरुले पनि बचाउन सकेनन्। काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काप्रति शब्द श्रद्धा।

यसैबीच नेपाली कांग्रेसका प्रशावशाली नेता खुमबहादुर खड्काको पार्शिव शरिर भोली स्वदेश ल्याइने तयारी भइरहेको छ ।

भोली बेलुकासम्म खड्को पार्शिव शरिर स्वदेश ल्याइने र पर्सी आइतबार कांग्रेस मुख्यालय सानेपामा श्रदाञ्जलीका लागि राखिने काँग्रेस स्रोतले जानकारी दिएको छ ।

खड्काको निधनको खबर पाए लगतै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रद्धान्जली व्यक्त गरेका छन् । उनले भनेका छन् ः– ‘लोकतान्त्रिक आन्दोलनका लागि जीवनभर निकै ठूलो सघर्ष गरेका कांग्रेस नेता एवं मेरा प्रिय मित्र खुमबहादुर खड्काजीको निधनको खवरले निकै दुःखी भएको छु । राजनीतिको विभिन्न कालखण्डमा उहाँसँगको साथ र सहयोग मेरो स्मृतिमा रहिरहनेछ । उहाँको निधनले कांग्रेसले एउटा जिम्मेवार र अनुभवी नेता गुमाएको छ । उहाँको पार्थिव शरिरप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार