fbpx

प्रभावशाली काँग्रेस नेता खड्काको आज अन्तिम संस्कार


Share This

नेपालबहस संवाददाता    

१८ चैत, काठमाडौं । उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिएको छ ।

उनको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उनकै निवासमा राखिएको थियो । उनको पार्थिव शरीरलाई आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । त्यसपछि शवयात्रा निकालेर पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । स्व खड्कालाई उहाँका सुपुत्र अनुरागले दागबत्ती दिएका थिए । नेता खड्काको सम्मानमा सशस्त्र प्रहरी बलको एक टुकुडीले शोक सलामी अर्पण गरेको थियो ।

नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उनी मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए । उनको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उनकै निवासमा राखिएको थियो ।

बेलायतमा उच्च शिक्षा अध्ययनरत नेता खड्काका सुपुत्र अनुराग खड्काले धार्मिक विधि र परम्परागत प्रक्रिया पूरा गरेर उनको पार्थिव शरीरलाई दिउँसो पार्टी कार्यालयमा राखिएको थियो ।

यही चैत ९ गतेदेखि निर्वाचन समीक्षा गर्न जारी काँग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ बजे बस्ने भनिएको सातौँ दिनको बैठक स्व खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

खड्काको निधनले दाङ शोकाकुल
विकासप्रेमी नेता खुमबहादुर खड्काको निधनले दाङ स्तब्ध भएको छ ।

दंगालीहरुले विकासप्रेमी नेतालाई गुमाएको अभिव्यक्ति दिएका छन् । खड्कालाई पार्टीमा जेसुकै भनिए पनि जिल्लाको विकास निर्माणमा उदार मनको नेता भएकाले सबैले उनको उच्च सम्मान गरेका छन् । “खुमबहादुर साँच्चै प्रजातन्त्रका योद्धा अनि जुधारु नेता पनि हुनुहुन्थ्यो, उहाँलाई गुमाउनुपर्दा धेरै
दुःख लागेको छ”– बयोवृद्ध दलबहादुर वलीले भने ।

प्रजातन्त्रका सेनानी तिलक डांगीले स्व खड्का निःस्वार्थ विकासप्रेमी नेता भएको बताए, “जिल्लाको विकास, निर्माण र समृद्धिको काम गरेर कुशल संगठकका रुपमा पनि प्रजातन्त्रको कुशल नेतृत्व गुमाएका छौँ, प्रजातन्त्रका लागि अहोरात्र खट्ने, कुशल संगठनकर्ता, विकासप्रेमी नेता खड्काको निधनले एउटा विकासको नक्षत्र हो । ”

स्व खड्काको जन्मथलो घोराही उपमहानगरपालिका–५ गाविस वडा नं ६स्थित भैसाप्रथा गाउँ शोकमा छ । स्थानीयवासी आफूहरुले मात्र नभएर देशले नै अभिभावक गुमाएको बताए

विगतमा उनको नाम सुन्दा खुशीले प्रफुल्ल हुने स्थानीयवासीमा मृत्युको खबर सुन्दा अप्रत्यासित लागि रहेको स्व. खड्काका अभिभावक समेत रहेका स्थानीयवासी सुरवीरसिंह वली बताउँछन् । “खुमबहादुरको उपचारको क्रममा मृत्यु भएको सबैले सुनाउँछन्, तर मलाई विश्वासै लाग्दैन”, खड्कासँगै बाल्यकाल बिताएका उनले भने ।

“पहिले गाउँमा सडक थिएन, खानेपानीका लागि एक घण्टा हिँडेर जानुपथ्र्यो, तर खुमबहादुर मन्त्री भएको बेलामा गाउँमा कुवा बनाइदिनुभयोे, बिजुली बत्ती ल्याइदिनुभयो, सडक र सिँचाइको व्यवस्थासमेत गरिदिनुभयो” स्थानीय केशरबहादुर केसीले भने । त्यस्तै खड्काको निधनसँगै उनको गृह गाउँ लमही नगरपालिका–८ सतवरिया शोकमा डुबेको छ ।

काँग्रेस समर्थकलाई मात्र होइन सबै पार्टीप्रति आस्था राख्ने सबै दुखी बनेका खड्काको निधनमा । खड्का काँग्रेसका नेता मात्र होइन जिल्लाको विकासको सारथी नै हुनुहुुन्थ्यो । “सबैको साझा नेता खड्कालाई हामीले गुमाएका छौँ, आफ्नो अभिभावक गुमाएको पीडा शब्दमा उतार्न सकिँदैन” लमही नगरपालिका–८ का वडा अध्यक्ष मेघनारायण चौधरीले भने ।
गाविस–६ मा जन्मेका खड्काको कर्मथलो सतवरिया हो । सतवरियामा रहेको उनको घरमा शनिबारदेखि सन्नाटा छाएको छ ।

‘नेता खड्काको निधन मुलुककै लागि क्षति’
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेता खुमबहादुर खड्काको निधन मुलुकको राजनीतिकै लागि क्षति भएको बताएका छन् ।

दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले नेताको खड्काको असमायिक निधनले काँग्रेसलाई मात्र नभई देशलाई नै ठूलो क्षति बताए । सभापति देउवाले भने, “नेता खड्का काँग्रेसको महान् योद्धा र देशको महान् सपूत हो । उनले प्रजातन्त्रका लागि आजीवन संघर्ष गर्नुभयो ।” सभापति देउवाले यस दुःखद् घडीमा नेता खड्काको आत्माले शान्ति पाओस् भन्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनी नेपालको लकेतान्त्रिक आन्दोलनको सबल योद्धा र काँग्रेसको लागि सशक्त खम्बाका रुपमा रहेको बताए ।

“उहाँबाट युवाले ठूलो प्रेरणा पाएका थिए, उहाँको निधन काँग्रेसको लागि मात्र होइन मुलकको लोकतान्त्रिक आन्दोलनका लागि अपूरणीय क्षति हो”–वरिष्ठ नेता पौडेलले भने । नेता खड्काको अनुपस्थितिको अभाव र रिक्तता सधैँ खड्किने बताउँदै वरिष्ठ नेता पौडेलले उनको सपना साकार पार्न अघि बढ्न सबैलाई आग्रह गरे ।

काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेता खड्कालाई सानो उमेरमा काँग्रेसको राजनीतिमा लागेको र ठूलो संघर्ष गरेको व्यक्तिका रुपमा सम्झीए । नेता खड्काले प्रजातन्त्रका लागि लामो समयसम्म निर्वासन तथा जेल जीवन बिताएको स्मरण गर्दै केन्द्रीय सदस्य बस्नेतले भने, “विसं २०३३ मा उहाँ फाँसीको सजाय र सर्वस्वहरणको मुद्दासमेतको परवाह नगरी प्रजातन्त्रका लागि स्वदेश फर्कनुभएको थियो ।”

नेता खड्का लोकतन्त्रका लागि जस्तोसुकै जोखिम लिनसक्ने र आफ्नो निर्णयमा अडिग रहने नेताका रुपमा परिचित रहेको नेता बस्नेतको भनाइ थियो ।

स्व खड्कालाई शोक सलामी
पार्टी कार्यालयमा नेकपा (एमाले) नेता सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, काँग्रेसका नेता तथा सयौँ कार्यकर्ताले नेता खड्काको पार्थिव शरीरमा पुष्प गुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरे ।

त्यसअघि बिहान ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर पनि सभामुख कृष्णबहादुर महरा, काँग्रेसका नेता तथा कार्यकर्ता र विभिन्न दलका नेताले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न देशभरिबाट काँग्रेस कार्यकर्ता काठमाडौँ आइपुगेका थिए । काँग्रेस नेता खड्का कार्यकर्तामाझ निकै लोकप्रिय नेताका रुपमा चिनिएका थिए ।

काँग्रेसले पार्टीको झण्डा आधा झुकाउने
नेपाली काँग्रेसले दिवंगत नेता खुमबहादुर खड्काप्रति शोक प्रकट गर्दै सात दिनसम्म केन्द्रलगायत पार्टी मातहतका सबै कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले काँग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथा पूर्वमन्त्री खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

दिवंगत नेता खड्काको निधनमा यही चैत १८ देखि २२ गतेसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेशस्थित जनसम्पर्क समितिका कार्यालय बन्द गर्ने तथा शोक÷श्रद्धाञ्जलिका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेता खड्काको चैत १६ गते साँझ ५ः१५ बजे नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पार्टीका संस्थापक बिपी कोइरालाको प्रेरणाबाट विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील नेता खड्काले बिपी कोइरालासँगै लामो समय भारतमा निर्वासित जीवन बिताएका थिए ।

नेता खड्का बिपीसँगै राष्ट्रिय एकता र मेलमिलापको नीतिअन्तर्गत २०३३ पुस १६ गते स्वदेश फर्कएका थिए । । आफ्नो आस्था र विश्वासका लागि जुनसुकै बलिदान गर्न तत्पर दिवंगत नेता खड्का पार्टीका नेता गणेशमान सिंह, सुर्वणशम्शेर, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवनपर्यन्त क्रियाशील रहेका थिए ।

नेता खड्काको निधनले काँग्रेस र सिंगो मुलुकलाई अपूरणीय क्षति पुगेको काँग्रेसले ठहर गरेको छ । दिवंगत नेता खड्काको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति काँग्रेसले उच्च सम्मान प्रकट गरेको छ ।

नेता खड्काको निधनको १३ औँ दिनमा काँग्रेसले केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार