कपाल काटेरै लखपति, सैलुनमा ग्राहकको भिड


Share This

नेपालबहस संवाददाता    

२२ चैत, काठमाडौं । पवन हेयर सैलुन, मोरङ जिल्ला उर्लाबारीको निकै चर्चित सैलुन हो । त्यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकको लाइन देख्दा लाग्छ, शहरमा अर्को कुनै सैलुन नै छैन ।

उर्लाबारीमा अन्तर्राष्ट्रियस्तरका सैलुन भने नखुलेका होइनन्, तर पवन नै सबैको रोजाइ बनेका छन् ।

उर्लाबारीमात्र होइन, दमक, पथरी र इटहराबाट पनि कपाल काट्न आउनेको लर्को लाग्ने गर्छ उनको पसलमा । यो सैलुन चलाउने युवा हुन्, उर्लाबारी–४ का पवनदेव ठाकुर । दश वर्षअघि आफ्नो गोजीमा भएको रु ५०० बाट सरसामान किनेर उर्लाबारी बरगाछीमा कपाल काट्ने व्यवसाय शुरु गरेका उनले अहिले उर्लाबारीमै लाखौँ मूल्यका घर बनाइसकेका छन् ।

तीन महिना दिल्लीमा कपाल काट्न सिकेर उर्लाबारीमा सैलुन खोलेका पवन अहिले काम भएन भनेर विदेशिने युवाका लागि पनि गतिलो उदाहरण बनेका छन् । शुरुमा पढ्न नसकेर कपाल काट्न सिकेका उनले १० वर्षमै मनग्य मात्रै कमाएनन्, आफ्ना भाइहरु अनि गाउँका अरु युवालाई पनि रोजगारी दिइरहेका छन् ।

उनको सैलुनमा पाँचजनाले कपाल काट्ने काम गर्छन् । तर पनि कुर्सी एक छिन पनि खाली हुँदैन, कैँची चलाउन व्यस्त उनलाई कसैलाई हेर्ने पनि फुर्सद थिएन । पालै दिन मुस्किल हुन्छ, ग्राहक फोन गरेर आउनुहुन्छ, मेहनती पवनले भने । हुन पनि त्यहाँ पालो नपाए बरु केही दिन कुर्छन् ग्राहक । तर त्यहाँ कपाल काटिरहेकाहरू सितिमिति अन्यत्र जाँदैनन् ।

काम सानो ठूलो लाग्दैन उनलाई । उनी भन्छन्, “काम त कामै हो नि, सानो ठूलो केही हुँदैन, त्यो बुझ्नेहरूमा भर पर्छ । पहिले मलाई गिज्याउने धेरै थिए”, शुरुवाती दिन पवनले सम्झीए तर उनीहरु नै अहिले मेरो गुणगान गर्नुहुन्छ बरु, ‘क्या प्रगति गरिस्’ भन्नुहुन्छ ।

सैलुनमा भेटिएका मोरङ उर्लाबारीका तेजन खड्का पवनको कपाल कटाइ नै राम्रो लाग्ने बताए । ग्राहक भन्छन्, पवनबाहेक अरुसँग कपाल काट्दा चित्त नै बुझ्दैन ।

आजभोलि उनीले दैनिक रु दुई हजारदेखि रु तीन हजारको हाराहारीमा कमाउछन् । उनलाई बिहान ६ देखि राति ८ बजेसम्म पनि खाना खाने फुर्सदै हुँदैन । काममै जोतिइरहेका भेटिन्छन्, पवन ।

अहिले थुप्रै संघसंस्था पनि उनलाई कपाल काट्ने तालीम दिनुप¥यो भन्दै माग गरिरहेका छन् । तर आफ्नै पसलमा आफ्ना ग्राहकको कपाल काट्नै भ्याइएको छैन, उनले भन्नुभयो, त्यहाँ पालो नपाएर, पालो मिचियो भनेर ग्राहक झगडै गर्छन् । तर पनि उनले केहीलाई भने तालीम दिएका छन् ।

आफ्नै सैलुनमा अनि संघसंस्थामार्फत तालीम लिएर अरुहरू पनि अन्य ठाउँमा यस्तै पसल खोलेर बसेका छन् । आफूले सिकाएकाहरूले पनि प्रगति गरेको देख्दा सन्तोष लाग्छ, उनले भने ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार