प्रधानमन्त्री ओलीलाई दिल्लीमा गार्ड अफ अनर, आज दिनभर भेटघाटमा व्यस्त


Share This

नेपालबहस संवाददाता    

२४ चैत, काठमाडौं । राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर ग्रहण गरेका छन् । ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो । विशिष्ट पाहुनाहरुको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ ।

गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुलाई संक्षिप्त सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय जनता र सरकारको तर्फबाट उच्च सम्मान पाएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले सुखी नेपाली र समृद्ध नेपालको अभियानमा भारतसहित सबै छिमेकी मुलुकको साथ र सहयोगको अपेक्षा नेपालले राखेको जानकारी दिए । प्रधानमन्त्री ओलीले त्यसका लागि समकक्षी नरेन्द्र मोदीसँग एकजुट भएर अघि बढ्ने विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।

प्रम ओलीको भारतीय राष्ट्रपति र प्रमबीच आज भेटवार्ता हुने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग आज बिहान शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिसँगको भेटवार्तापछि प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आजै बिहान ११ बजे महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर माल्यार्पण गर्ने र ११ः३० बजे हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय मुख्य भेटवार्ता हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीबीच एक्लाएक्लै भेटवार्तापछि सामूहिक एवं प्रतिनिधिमण्डलस्तरीय छलफल र भेटवार्ता हुने कार्यक्रम छ ।

यस्तै नेपाल र भारतका उच्च अधिकारीको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गरिनेछ । सो कार्यक्रमलगत्तै उपराष्ट्रपति बेनकैया नायडु र गृहमन्त्री राजनाथ सिंहसँग पनि प्रधानमन्त्री ओलीको शिष्टाचार भेटवार्ता हुने कार्यक्रम छ । आज साँझ १७ः३० इन्डिया फाउन्डेशनको कार्यक्रममा नागरिक अभिनन्दन ग्रहण गरी सम्बोधन गर्ने कार्यक्रम छ ।

राजकीय भ्रमणका लागि भारतमा
प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहेका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमणका लागि भारतपुगेका हुन् ।
प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट हिजो बिहान ९ बजे भारत प्रस्थान गरेका थिए । उनलाई बिदाइ गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा ९एमाले० का उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङ तथा विभिन्न मन्त्रालयका सचिवहरु पुगेका थिए ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहभागी छन् ।

यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्यहरु शरतसिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतिलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो तथा विमलप्रसाद श्रीवास्तव भ्रमणदलमा सहभागी छन् ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल तथा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य सहभागी छन् ।

यस्तै, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महतो पनि भ्रमण दलमा सहभागी छन् ।

यस्तै, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपालका सञ्चारकर्मीको समेत भ्रमण दलमा सहभागिता रहेको छ । भ्रमण दलमा कलाकार राजेश हमाल र निर्देशक दिनेश डिसी पनि सामेल छन् ।

भ्रमणमा नेपाली दूतावास नयाँ दिल्लीबाट कार्यबाहक राजदूत भरतकुमार रेग्मी, इकोनोमिक मिनिष्टर कृष्णहरि पुस्करलगायत नौजनाको पनि सहभागिता रहेको छ ।

प्रधानमन्त्री नयाँदिल्लीमा
हिजो प्रधानमन्त्री केपी शर्मा ओली भारतको त्रिदिवसीय राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेपछि उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रि«य विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गरेका थिए ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी र नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलगायतले स्वागत गरेका थिए ।

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको निमन्त्रण
प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताएका छन् ।

इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताएका छन् ।

नेपालको प्रमुख कार्यसूची सुखी नेपाली, समृद्ध नेपालमात्रै रहेको उल्लेख गर्दै उनले नेपाललाई विकासोन्मुख देशमा लैजान आफू प्रयत्नशील रहेको उल्लेख गरेका छन् ।

अहिले प्रतिनिधिसभाको तीन चौथाई मत प्राप्त सरकार गठन भएको, कानूनको परिपालना गराउन कुनै बाधा व्यवधान नभएको, इतिहासकै बलियो सरकार निर्माण भएकाले पनि लगानीको थप अवसर सिर्जना भएको प्रधानमन्त्रीको भनाइ थियो ।

भारतीय लगानीकर्ता संसारभर नै लगानीका लागि गएको भन्दै उनले नेपालमा पनि खुला हृदयका साथ आउन निमन्त्रणा गरेका छन् ।

सरकारले नयाँ उद्योग स्थापना लागि विशेष आर्थिक क्षेत्र स्थापना गरेको, उद्योग, व्यवसायमैत्री औद्योगिक नीति ल्याएको, श्रम समस्या नरहेको, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम गरेको जानकारी दिँदै सरकार सबै प्रकारको लगानीलाई स्वागत गर्न तयार तयार रहेको बताएका छन् ।

सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै पनि विभेद नगरेको, समान सुविधा दिएको, वीरगञ्जमा एकीकृत जाँचचौकी स्थापना गरी सहज भन्सार सुविधा दिन थालिएको र त्यस्तो चौकी अन्य तीन स्थानमा पनि स्थापना हुने क्रममा रहेको स्पष्ट पारे ।

नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता गरिएको, ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको, अर्को प्रसारण लाइन निर्माणको प्रारम्भ भएको, माथिल्लो कर्णाली, अरुण तेस्रो आयोजना निर्माण हुन लागेकाले ऊर्जा क्षेत्रमा लगानीको महत्वपूर्ण अवसर रहेको भन्दै भारतीय उद्योगी व्यवसायीलाई सो कुरा अवगत गराए ।

कृषि, पर्यटन तथा जडीबुटी उद्योगमा समेत लगानीको महत्वपूर्ण अवसर रहेको प्रधानमन्त्रीको जोड थियो ।

सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा राजनीतिक स्थिरता कायम भएको, स्थिर सरकार गठन भएकाले लगानीको वातावरण बनेको उल्लेख गरे ।

माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता ठूला जलविद्युत् आयोजना निर्माणका क्रममा रहेको उनले बताए । ती आयोजना नौ÷नौ सय मेगावाट क्षमताका आयोजना हुन् ।

माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापनको काम शुरु भएको र अरुण तेस्रो, निर्माणको क्रममा जान लागेको उनको भनाइ थियो ।

लगानी बोर्डले विभिन्न ठूला परियोजनालाई अगाडि बढाइरहेको उल्लेख गर्दै उनले नेपालमा भारतीय उद्योगी तथा व्यवसायीको लगानी पनि सुरक्षित हुने अवस्था रहेको उल्लेख गरे ।

राजनीतिक रुपमा असाध्यै समस्या रहेको बेलामा समेत नेपालमा भारतीय उद्योग तथा व्यवसायीले महत्वपूर्ण नाफा गरेको भन्दै हालको अवस्थामा झन लगानीमैत्री वातावरण बनेको स्पष्ट पारे ।

जलविद्युत्, पर्यटन क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत अधिकारीले ढुक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरे ।

नेपाल सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँमा मोनो–रेललगायतका पूर्वाधारको विकासका लागिसमेत काम गरिरहेको उल्लेख गर्दै उनले नेपाल लगानीका लागि उपयुक्त स्थल रहेको पटकपटक उल्लेख गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव माधव बेल्वासेले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण शुरु हुने क्रममा रहेको, केही नीतिगत सुधार गरिएको जानकारी गराए ।

ऊर्जा क्षेत्रको एकीकृत विकासका लागि सरकारले २०७२ फागुन ६ गते नै ९९ बुँदे ऊर्जा संकटकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको र निजी क्षेत्रलाई थप सहज गराइएको उनको भनाइ थियो ।

सहसचिव बेल्वासेले नेपालमा महत्वपूर्ण आयोजना निर्माणको क्रममा रहेको र भारतसमेत नेपालको बजार हुनसक्ने भएकाले त्यही आधारमा लगानी गर्न आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गरेको, राजनीतिक रुपमा समेत सहज वातावरण बनेको भन्दै वैदेशिक लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराएकी थिइन् ।

उनले नेपाल र भारतका निजी क्षेत्र मिलेर पनि काम गर्न सकिने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीको छाता संगठन भएकाले पनि महासंघले पनि थप सहजीकरण गर्ने स्पष्ट पारे । उनले लगानी बोर्डको क्षमता वृद्धि र कार्यक्षेत्रको विस्तारसमेत भएकाले लगानीको वातावरण बनेको बताइन् ।

सिएनआइका अध्यक्ष हरिभक्त शर्माले नेपाल लगानीका लागि एकदमै उपयुक्त भएकाले जुनसुकै क्षेत्रमा पनि नाफा कमाउन सकिने भएकाले लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरे ।

नेपाल र भारतबीचको खुला सिमानाका कारण पनि एक अर्काबीच सहज सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुई देशका लगानीकर्ताबीच विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानीका लागि आउन भारतीय लगानीकर्तालाई आग्रह गरे ।

कार्यक्रममा हिन्दुस्तान पावर लिमिटेडका रतुल पुरीले नेपाल र भारतका उद्योगी तथा व्यवसायी मिलेर ऊर्जाको क्षेत्रमा धेरै काम गर्न सकिने स्पष्ट पारेका थिए ।

पिटिसी इन्डियाका अध्यक्ष दीपक अमिताभले आफ्नो कम्पनीले नेपाल, बंगलादेशलाई विद्युत् उपलब्ध गराइरहेको जानकारी दिए ।

नेपाललाई हाल १५० मेगावाट विद्युत् उपलब्ध गराइरहेको जानकारी दिँदै ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन जस्तै अन्य लाइन पनि निर्माण गर्नुपर्ने बताए ।

भारत ठूलो ऊर्जाको बजार भएकाले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न सकिने बताए ।

नयाँ प्रसारण लाइन निर्माण गर्नुपर्ने र नेपाल–भारतबीच विद्युत्को क्षेत्रमा धेरै काम गर्न सकिने उनको भनाइ थियो ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक जिएमआर, वापकोश इन्डिया, एन्डिज हाइड्रोका प्रतिनिधिले नेपालमा आफूहरुले विगतदेखि नै मिलेर काम गर्दै आएको बताएका थिए ।

कार्यक्रममा सिमेन्ट, पूर्वाधार तथा अन्य विभिन्न औद्योगिक क्षेत्रमा काम गर्दै आएका औद्योगिक घराना तथा व्यवसायीले नेपालमा लगानीका लागि आफूहरु तयार रहेको धारणा राखेका थिए ।

प्रम ओली र भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीबीच भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी नेतृत्वको प्रतिनिधिमण्डलले हिजो अपराह्न शिष्टाचार भेटवार्ता गरेका थिए ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार–विमर्श भएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भेटमा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत भारतीय राष्ट्रिय काँग्रेसका अन्य शीर्ष नेताको सहभागिता थियो । सो अवसरमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी थिए ।

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी नरेन्द्र मोदीबीच हिजो नै नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको थियो ।

भ्रमणको कार्यसूचीअनुसार आज अपराह्न उनीहरुबीच द्विपक्षीय वार्ता हुने छ ।

भ्रमणको तेस्रो दिन अर्थात् आइतबार उत्तराखण्डमा अवस्थित पन्तनगरका लागि प्रस्थान गरी एकीकृत कृषि परियोजनाको निरीक्षण, कृषि विश्वविद्यालयकै सभाकक्षमा मानार्थ विद्यावारिधिको प्रमाणपत्र ग्रहण गर्ने र लगत्तै नयाँ दिल्ली हुँदै साँझ ६ः०० बजे नेपाल एअरलाइन्सको चार्टर उडानमा स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार