२०६२/६३ को गणतान्त्रिक आन्दोलनपछि बनेको वामसरकारले देशको ढुकुटी रित्यायो, श्वेतपत्र मार्फत काँग्रेसलाई दोष मात्र : सभापति देउवा


Share This

नेपालबहस संवाददाता    

२४ चैत, काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य रहेको बताएका छन् ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले भने, “विसं २०६२÷६३ को गणतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व बढी समय वामपन्थीबाट भएको छ । श्वेतपत्रमा काँग्रेसका कारण अर्थतन्त्र धरासायी भयो भन्नु आफैँमा कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन । विगतका वामपन्थी सरकारका नीतिका कारण अर्थतन्त्र धरासायी बनेको हो ।”

उनले नेकालाई आगामी पाँचवर्षभित्र पहिलो स्थानमै पु¥याउने प्रतिबद्धता जनाए ।

उनले भने – “तीन तहका निर्वाचनमा दुई वामपन्थी पार्टी मिलेका कारण उनीहरुले पहिलो स्थान ल्याएका हुन्, यसमा काँग्रेसको कुनै आपत्ति छैन तर देशलाई अधिनायकवादतर्फ उन्मुख गराएमा भने पार्टी चुप लागेर बस्दैन ।”

लोकतन्त्रको संस्थागत विकास गर्न पार्टीले जोड दिने उल्लेख गर्दै सभापति देउवाले आगामी अधिवेशनमा पार्टीको विधान संशोधन गरी वडा तहदेखि माथिल्लो तहसम्म ट्रेड युनियनको प्रतिनिधित्व गराइने जानकारी दिए ।

पार्टी केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसको नेतृत्वमा बनेका सरकारले गरेका विकासका कामलाई जनतासामु लान नसक्दा गत निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको चर्चा गर्दै पार्टीलाई जीवन्तता दिन नयाँ ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल टे«ड युनियन काँग्रेसका सभापति खिलानाथ दाहालले श्रम आयोग गठन गर्न र श्रम विनियमावली ल्याउन माग गरे ।

सो सम्मेलनमा संघका पूर्व अध्यक्षहरु गोपाल पाण्डे, मित्रकुमार राई र शिशिरकुमार झालाई सम्मान गरिएको थियो ।

काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह

उता नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क दिएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहहेका नेता सिँहले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा नेतृत्वमा आउनसक्ने बताए ।

उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनका लागि काँग्रेस नेतृत्वको सरकारले तीन तहको चुनाव सफल बनाएको बताए ।

सो अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले आठवटा संस्थाबाट शुरु गरेको युनियनमा अहिले ४५ संस्था संलग्न रहेको जानकारी दिए ।

महाधिवेशनमा संस्थाका अध्यक्ष गणेशबहादुर केसीले सत्ताधारी दलले ट्रेड युनियनलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।

पार्टीलाई नयाँ सोचमा लानुपर्छ– खाँण

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीलाई नयाँ सोचका साथ सुधार्दै लैजानुपर्ने बताएका छन् ।

नेपाल खाद्य संस्थान कर्मचारी युनियनको ११ औँ केन्द्रीय अधिवेशनमा नेता खाँणले २००३ सालको विराटनगरको जुटमिलमा भएको पहिलो आन्दोलनले मजदुरका अधिकारलाई स्थापित गरेको बताउँदै सो आन्दोलनको बलबाट २००७ सालको रानजीति परिवर्तन सम्भव भएको जानकारी उल्लेख गरे ।
उनले कांग्रेसले माओवादी शान्तिवार्ता, द्वन्द्व व्यवस्थापन, संविधानसभा निर्वाचन, मधेश मुद्दाको समाधान र स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनमा नेतृत्वादायी भूमिका निर्वाह गरेको जनाए ।
अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले अरुले बिगारेको विषय कांग्रेसले सुधार गर्दै अघि बढेमा लोकतन्त्रको संस्थागत विकासमा थप बल पुग्ने बताए । अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार