कामले नै चर्चित बनेका सर्वेन्द्रले लगाए आईजीपीको फुली, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र


Share This


नेपालबहस संवाददाता    147 Views

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षक पदबाट अवकाश पाएपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले आज दर्ज्यानी चिह्न पाएका छन् ।

खनालद्वयलाई आज विहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । खनालद्वयले आजबाटनै आफ्नो कार्यभार औपचारीक रुपमा सुरु गर्ने छन् ।

सर्वेन्द्र र शैलेन्द्र दुवैलाई गत मंगलबार सरकारले महानिरीक्षक पदमा नियुक्त गरेको थियो । नेपाल प्रहरीमा १५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), ९ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहित एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले अवकाश पाएका छन् ।

को थिए त सर्वेन्द्र ?
सर्वेन्द्र खनालले जागिर खाएलगत्तै पहिलो पोस्टिङ उपत्यका ट्राफिक कार्यालयमा भएको थियो । सवारी साधनको लाइसेन्स प्रहरीले दिन्थ्यो । तर, ट्रायल लिने ठाउँ थिएन । बग्गीखानासँगै नेशनल ट्रेडिङको कम्पाउण्डमा खाली जग्गा भएको खबर पाएपछि उनले तत्कालीन ट्राफिक प्रमुख रोहित थापाको सहयोगमा काम अगाडि बढाए । केही दिन पछि आपूर्ति मन्त्रालयले अनुमति दिनका लागि लेखेको चिठी पाए । त्यही नेशनल ट्रेडिङको कम्पाउण्ड हो, जहाँ आज पनि लाइसेन्सको ट्रायल लिने काम जारी छ ।

काठमाडौं प्रहरी प्रमुखका रुपमा ०६४ मा हनुमानढोका हाजिर भए । अरु हाकिम हाजिर हुनासाथ कहाँबाट कति आउँछ (पैसा०) भनेर लाइन बुझ्थे । सर्वेन्द्रचाहिँ हाजिर हुनासाथ हिरासत कक्ष निरीक्षणमा झरे । फोहोरको डंगुर छ । उडुसको टोकाइले प्रत्येक थुनुवा घाइते छन् । भातमा उडुस, पानीमा उडुस, ओछ्यानमा उडुस– हनुमानढोका होइन, उडुस ढोका भइसकेको थियो ।

उनले तुरुन्तै लेखापाल केशव गौतमलाई बोलाएर भने, ‘कति पैसा लाग्छ, पुगेन भने मेरो तलब पनि यसैमा हाल्नु, यहाँका फोहोरचाहिँ अहिल्यैदेखि उठाउन लगाऊ ।’ त्यहाँबाट १४ टन फोहोर निस्कियो । र, त्यसपछि हनुमानढोकामा उडुस आतंक बन्द भयो ।

प्रहरीको अञ्चल प्रहरी कार्यालय भनेको कार्यकारी भूमिका हुने निकाय होइन । तर, त्यस्तो युनिट सम्हाल्दा पनि सर्वेन्द्र कामबिना बसेनन् । नारायणी अञ्चल प्रमुख भएर वीरगञ्जमा बसे । ०६९ माघ १३ गते ८ वर्षीय वालक श्लोक अग्रवाल अपहरणमा परे । दुई अपहरणकारी फेला परे । अपहरित वालकको उद्धार गरे, अपहरणकारी प्रहरी कारवाहीमा मारिए ।

०६६ मा पर्साका सहायक सिडिओ बलबहादुर मल्ल हत्याप्रयास रोक्ने क्रममा उनका अंगरक्षक प्रहरी जवान अनन्तराज खड्कालाई गोली लाग्यो, उनको निधन भयो । सर्वेन्द्रले अञ्चल प्रहरीको कमाण्ड सम्हालेको बेला आफ्ना सिपाही मार्ने अपराधी पहिचान भइसकेका थिए । बाराको सुखीपथराका भुलावन पासवान थिए सुटर, जसलाई समातेर जेल चलान गरिदिए ।

भारतीय मोस्ट वान्टेड बब्लु दुबे नेपालमा लुकीछिपी बसेको सूचना पाए । ३० भन्दा बढीको ज्यान मारेर नेपालमा लुक्न आएका बब्लुलाई सर्वेन्द्रले समाते, भारतीय प्रहरीलाई बुझाइदिए ।

‘बोर्डर डन’ का नामले चिनिने सुनील जैसवाल ‘अग्नी’ भारतमा पनि मोस्ट वान्टेड थिए, अपराधका लागि नेपाल छिर्थे । सर्वेन्द्रले चाल पाएको एक घण्टामा उनलाई लाश बनाइदिए ।

काठमाडौंको अपराध महाशाखामा हुँदा प्रहरीमाथि आक्रमण प्रयास गर्ने गुण्डानाइके मारिए । फुटवलमा म्याच फिक्सिङ गर्ने कसुरदारहरु कारवाहीमा परे । पेट्रोलपम्पहरुले रिमोर्टमार्फत कम इन्धन भरेर पूरै भरिएको विवरणका दिई उपभोक्ता ठगी गर्थे । उनले छापा मारे, कारवाही गरे, ठगी बन्द भयो ।

शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) का नाममा मानव तस्करी र ठगी धन्दा मौलाएको छ । उनैले हो, पहिलोचोटि कन्सल्टेन्सीहरुमा छापा मार्दै अवैध गतिविधि गर्नेलाई कारवाही थालेको ।

काठमाडौंमा ट्राफिक लाइटका पोल छन्, तर बल्दैनन् । उनले महानिरीक्षक नियुक्त हुनुभन्दा एक साताअघि नयाँ बानेश्वर, नारायणगोपाल चोकलगायतका स्थानमा ट्राफिक लाइट बालेरै देखाए । यी माथि उल्लेख गर्रिका घटनाले, काम सर्वेन्द्रको छोटकरी परिचय बन्न पुग्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार