गाँठो फुकाउने प्रयासमा एमाले र माओवादी, ९ वैशाखमा नै एकता गर्न एमाले स्थायी कमिटीको जोड


Share This

नेपालबहस संवाददाता    

४ वैशाख, काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकतालाई सकेसम्म वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस ९ वैशाख मा एकता गर्न बैठक बसेको हो ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बताए । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिनभर अन्य कार्यक्रम स्थगन गरी एकता प्रक्रियासम्बन्धी छलफलमा जुटेका थिए । उनले बिहान केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

दुई दलबीचको एकता संयोजन समितिको बैठक मंगलबार बिहान राखिएको छ । संयोजन समितिले प्रतिवेदनमा सहमति हुन बाँकी देखिएको एकताको मिति, घोषणा प्रक्रिया, एकतामा सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषणबारेमा निक्र्यौल गर्नुपर्नेछ ।

पार्टी एकीकरणको विषयमा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार छलफल भएको थियो । उनीहरूबीचको छलफल सकारात्मक रहेको निकट स्रोतले जानकारी दिएको छ । सिन्धुपाल्चोकको सिकुटेबाट फर्केपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुगेका थिए । दुईजनाको बीचमा पार्टी एकीकरणका लागि मिल्न नसकेका विषयमा छलफल हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले पार्टी एकीकरणको विषयमा दुईजना अध्यक्षको बीचमा भएको छलफल सकारात्मक भएको बताए । उनले मङ्गलबार बस्ने एकता संयोजन समितिको बैठकबाट नमिलेका विषयलाई टुङ्गो लगाउने बताए ।

दुईजनाको बीचमा भएको छलफल सकारात्मक भए पनि त्यस विषयलाई एकता संयोजन समितिमार्फत टुङ्गो लगाउने सहमति भएको छ । एकता संयोजन समितिको बैठक मङ्गलबार बिहान बोलाउने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी गराए ।

एकताका लागि लगभग सबै कुरा कार्यदलले टुङ्ग्याइसकेको छ । चुनाव चिह्न, ‘जनयुद्ध’ शब्द र केन्द्रीय समितिको सङ्ख्यामा हिस्सेदारी विषयमा कुरा मिलेको छैन । यी तीन विषयमा कार्यदलमा पनि छलफल भएको हो तर त्यहाँ कुरा नमिलेपछि त्यसलाई एकता संयोजन समितिमा पठाइएको छ । एमाले एकीकृत पार्टीको चुनाव चिह्न सूर्य राख्नुपर्ने अडानमा छ भने माओवादी केन्द्रले त्यसलाई स्वीकारेको छैन ।

त्यस्तै एकीकृत पार्टीको बन्ने २९९ सदस्यीय कार्यसमितिमा माओवादी केन्द्रले बराबरीको हिस्सेदारी खोजेको छ । कार्यदलले २९९ सदस्यीय कार्यसमिति बनाउने सहमति गरे पनि कुन दलको कति जना रहने टुङ्गो लगाउन सकेन ।
माओवादी केन्द्रमा तीन हजार ९९९ जना केन्द्र्रीय सदस्य छन् भने ३९९ जना पोलिटब्युरो सदस्य र ३४ जना स्थायी समिति सदस्य रहेका छन् । त्यस्तै एमालेमा १९८ जना केन्द्रीय सदस्य छन् भने ५९ जना पोलिटब्युरो सदस्य र २६ जना स्थायी समिति सदस्य रहेका छन् । पार्टी एकीकरणको समयमा माओवादी केन्द्रको कार्यसमिति सदस्य सङ्ख्या घटाउने भनेको छ ।

पार्टी एकीकरण गर्ने सहमति भएको बेला ६० र ४० को हिसाबमा सहमति भएको थियो तर माओवादी केन्द्रले अहिले आएर हिसाब चुनावका लागि मात्र भएको, एकीकरणका लागि नभएको दाबी गर्दै आएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सार्वजनिक रूपमै सम्मानजनक अवस्थामा पार्टी एकीकरण हुने भन्दै आएका छन् । त्यसैगरी पार्टीको विधान तथा राजनीतिक दस्तावेजमा जनयुद्ध शब्द व्याख्यासहित राख्नुपर्ने माओवादी केन्द्रको दाबी रहेको छ ।

सोमबार बालुवाटारमा दुईजना अध्यक्षको बीचमा भएको छलफलमा यी विषयमा पनि छलफल भएको हो तर कुनै निष्कर्ष ननिकाली यी विषयलाई एकता संयोजन समितिमा लगिएको छ । यी दुईजना अध्यक्षकोे बीचमा आइतबार नै छलफल हुने कुरा थियो तर अध्यक्ष प्रचण्ड आकस्मिक रूपमा सिन्धुपाल्चोक गएपछि छलफल हुन पाएको थिएन ।
एकीकरणका लागि गठन भएको दुईवटै कार्यदलले एकता संयोजन समितिलाई चैत २० गते आफ्नो प्रतिवेदन बुझाएको थियो । चैत २२ गते एकता संयोजन समितिको बैठक बसेको थियो । त्यो बैठकमा खासै सहमति बन्न सकेन । भारत भ्रमणबाट फर्केपछि चैत २७ गते अर्को बैठक बस्ने सहमति गरेको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार