गाउँमै पुगेर एकसय ५५ लाई नागरिकता


Share This

नेपालबहस संवाददाता    

१९ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ ।

गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा दुईदिने घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिन उमेर पुगेका र छुटेका समेत गरी १५५ जनालाई नागरिकता वितरण गरेको हो ।

गाउँपालिका कार्यालयमै सोमबार र मंगलबार आयोजित शिविरबाट ७७ जना पुरुष र ७८ जना महिलालाई नागरिकता वितरण गरिएको शिविरका लागि गएको टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए ।

नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने ध्येयले प्रशासनले जिल्लाका सबै स्थानीय तहका केन्द्रमा घुम्ती शिविरको आयोजना गरी नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

संघीयता कार्यान्वयनको चरणमा जिल्लामा रहेका सबै सरकारी कार्यालयका सेवा सुविधा गाउँगाउँमा पुगेका तर नागरिकता प्राप्त गर्न सदरमुकाम नै आउनुपर्ने बाध्यता नागरिकमा रहिरहेका कारण नागरिकको सुविधाका लागि शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

कार्यालयले यसअघि लालीगुराँस नगरपालिका र फेदाप गाउँपालिकामा समेत घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको थियो ।

नागरिकता पाइन् सपना बादीले
बाजुरा बूढीगंगा नगरपालिका–७ की सपना बादीले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् ।

बिहेलगत्तै श्रीमान्को मृत्यु भएपछि नागरिकता नपाएकी सपनाले ७१ वर्षको उमेरमा वैशाख १४ गते शुक्रबार नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ ।

साविक गाविस र हालको नगरपालिकालाई जानकारी गराए पनि कसैले नागरिकताको पहल नगरेको गुनासो सुनाउँदै सपनाले पत्रकारलाई जानकारी गराएपछि नागरिकता पाएको बताए ।

सपनाको नागरिकताका लागि नगरपालिका, प्रहरी प्रशासनसँग सहकार्य गरी नागरिकता बनाउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष प्रकाश सिंहको पहलमा सपना बादीले नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।

अर्काको छाप्रोमा बस्दै आएकी सपनालाई पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह र इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले नागरिकता बनाउन यातायात खर्चसमेत सहयोग गरेको सपना बादीले बताइन् ।

सपनाले बूढीगंगा नगरपालिका–७ का वडाध्यक्ष भवनसिं केसीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएकी हुन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार