सिण्डिकेट नगर्ने शर्तमा व्यवसायी रिहा, अबको पालो मदिरा नियन्त्रण


Share This

नेपालबहस संवाददाता    

२३ वैशाख, काठमाडौं । यातायात क्षेत्रमा एकाधिकार अन्त्य गर्ने सरकारको निर्णयमा सहयोग गर्ने तथा यातायात बन्दका आन्दोलनका कार्यक्रम नगर्ने लिखित प्रतिबद्धता जनाएपछि यातायात व्यवसायी महासंघका प्रतिनिधि रिहा भएका छन् ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा ‘सिण्डकेट अन्त्य गर्ने सरकारको निर्णयमा स्वागत गर्ने तथा अब उप्रान्त यातायात व्यवसायलाई प्रचलित कानूनबमोजिम दर्ता गराई सरकारको कानून नीति अनुकूल सञ्चालन गर्ने’ कागजमा महासंघका पदाधिकारीले हस्ताक्षर गरेका छन् ।

यस्तै कागजमा त्यसविरुद्ध गएमा हाम्रो नाममा दर्ता भएका सवारी साधनको रुट इजाजतपत्र खारेज गर्न तथा प्रचलित कानूनबमोजिम जस्तोसुकै कारबाही भोग्न तयार रहेको उल्लेख छ । रिहा हुनेहरुमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, महासचिव पुण्यप्रसाद सिटौला, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्कालगायत छन् ।

आज बिहान गृहमन्त्री रामबहादुर थापाले सरकारको निर्णयमा समर्थन गर्न सहमत भए पक्राउ व्यवसायी रिहा गर्न र अन्यथा उनीहरुलाई अत्यावश्यक सेवा ऐन, २०१४ अनुसार कारबाही अघि बढाउन देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

सिण्डिकेट हटाउने निर्णयविरुद्ध शुक्रबार देशभर यातायात बन्द गरी आन्दोलनमा उत्रिएका करिब १०० जना र शनिबार महासंघका अध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

देशभर मदिरा नियन्त्रण अभियान चलाइने
गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ ।

गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा बिक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो । सोही क्रममा आज गृहमन्त्री रामबहादुर थापाले विभिन्न राजनीतिक पार्टी आबद्ध महिला नेत्री र महिला सांसदसँग आज गृहमन्त्रालयमा सो विषयमा छलफल गरेका छन् ।

छलफलमा गृहमन्त्री थापाले समाज, परिवारमा विखण्डनको प्रमुख कारण मदिरा रहेको भन्दै यसको नियन्त्रण गर्ने तयारी थालेको भन्दै यसमा रचनात्मक सुझाव र सहयोगका लागि महिला नेत्रीहरुसँग आग्रह गरे । उनले पछिल्लो समय बढिरहेको महिला हिंसाको कारणसमेत मदिरानै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको करभन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौँ गुणा घातक रहेको टिप्पणी गरे ।

देशभर रहेका करिब छ हजार ५०० स्थानीय तहका वडाहरुमा विभिन्न राजनीतिक पार्टी आबद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समूह, नागरिक समाज र सुरक्षाकर्मी रहनेगरी समिति गठन गरी वडास्तरबाटै जनसहभागितामा मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको उनले जानकारी दिए ।

यसका लागि मन्त्रालयले विस्तृत खाका बनाइरहेको भन्दै अभियान केन्द्रको प्रयासले मात्रै सम्भव नरहेको भन्दै वडास्तरबाटै सञ्चालन गरिने गृहमन्त्री थापाको भनाई छ । यसका लागि तत्काल मन्त्रालयले छमहिने अभियान सञ्चालनका लागि आवश्यक गृहकार्य गरिरहेको गृहमन्त्रीले जानकारी दिए । उनले अभियानसँगै मदिरा नियन्त्रणको जागरण अभियान र भण्डाफोर कार्यक्रम आयोजना गरिने बताए ।

उनले अनुमति नलिई र मापदण्ड नपुगी सञ्चालनमा ल्याइएको मदिरा पसललाई नियन्त्रणमा लिन सुरक्षाकर्मी तत्काल परिचालन गरिने बैठकमा जानकारी दिए । विकास र समृद्धिको बाधक तथा भ्रष्टाचारको कारकसमेत मदिरा रहेको भन्दै यसलाई व्यवस्थित गराएरै छाड्ने प्रतिबद्धता बैठकमा गृहमन्त्रीले व्यक्त गरे।

मदिरा नियन्त्रणसँगै लागूऔषध नियन्त्रणलाई पनि साथसाथै अभियानका रुपमा लैजाने तयारी मन्त्रालयले गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा पूर्वसचिव तथा राष्ट्रिय सूचना आयोगका प्रमूख आयुक्त कृष्णहरि बाँस्कोटाले मदिरा नियन्त्रणका उपायका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । छलफलमा महिला नेत्रीहरुले मदिराबाट सबैभन्दा बढी पीडित महिला रहेको भन्दै मदिरा नियन्त्रण अभियानमा साथ दिन तयार रहेको बताएका थिए । उनीहरुले पहिलो चरणमा मदिरा नियन्त्रण र दोस्रो चरणमा मदिरा निषेध नै गर्ने गरी कार्ययोजना ल्याउन गृहमन्त्रीलाई सुझाव दिए ।

उनीहरुले मदिरा नियन्त्रणका लागि आवश्यक नियम, निर्देशिका र संयन्त्रको समेत तत्काल विकास गर्नुपर्ने बताए । विगतमा टोल, गाउँ र जिल्लागत रुपमा यस्तो अभियान सञ्चालन गरिएपनि यसपटक केन्द्रस्तरबाटै अभियान शुरु गर्न लागिएकाले अभियान सफल हुनेमा छलफलमा सहभागी सबैको एकमत रहेको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार