बाढीले ४ घरमा क्षतीे, सडक अवरुद्ध, हावाहुरीका कारण एकको मृत्यु


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले ४ वटा घरमा क्षती पुर्याएको छ ।

भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए । बालकृष्ण मिजारको एक तले, लट्टे गिरीको दुई तले, अकुमारी पुर्जाको दुई तले र ढावा शेर्पाको एक तले घरमा पूर्णरुपमा क्षति पुगेको छ ।

गोविन्द पुर्जाको कपडा पसल, टेकनारायण पौडेलको स्टेशनरी र अरुण थकालीको घरमा बाढी पसेर क्षति पु¥याएको छ भने केही होटल र घरमा समेत बाढी पसेको छ ।

बाढीबाट त्यहाँ रहेका एक दर्जन बढी घर प्रभावित भएका छन् । घरमा बाढी पसेपछि अन्नपात, लत्ताकपडालगायत घरायसी सामानमा क्षति पुगेको छ । प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले क्षतिको विवरण संकलन गरिरहेको छ ।

दिउँसो ३ बजेदेखि डेढ घण्टासम्म भएको भीषण वर्षापछि बस्ती माथिको पाखोबाट आउने खहरेखोलामा एक्कासि बाढी आएपछि स्थानीयको भागाभाग भएको थियो । खोलालाई कुलोबाट निकास दिएर व्यवस्थापन गरेर क्षतिको विवरण संकलन गरिरहेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख नेत्रप्रसाद पोखरेलले बताए ।

वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरो र खोल्सामा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । दानाको घट्टेखोला, काभ्रे र बेगखोलामा बाढीले अवरुद्ध बनाएको सडक खुलाउन बेनी जोमसोम कोरला सडक आयोजनाले डोजर परिचालन गरेको सुपर भाइजर इन्द्रसिङ शेरचनले बताए ।

घट्टेखोलामा बाढीले निर्माणाधीन पुलमा समेत क्षति पु¥याएको छ । सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमण, मुक्तिनाथ दर्शनमा आउने÷जाने भक्तजन तथा पर्यटक समस्यामा परेका छन् ।

म्याग्दी भ्रमण वर्ष २०७५
यसैवीच, पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि म्याग्दी भ्रमण वर्ष २०७५ शुरु भएको छ ।

प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तह र संबद्ध सरकारी निकायसँगको सहकार्यमा भ्रमण वर्षको शुभारम्भ गरेको संघले जनाएको छ ।

पर्यटकीयस्थलको पहिचान गरी प्रचारप्रसार गर्ने र पूर्वाधार निर्माणमा सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन पहल गर्ने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।

म्याग्दीमा धौलागिरि, अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरि, अन्नपूर्ण आधार शिविर, तातोपानी कुण्ड, घोडेपानी, खोप्रा, मोहोरडाँडा, टोड्के, रुइसे, संसारकै गहिरो अन्धगल्छीलगायत दर्जनौँ पर्यटकीयस्थल छन् ।

भ्रमण वर्षको बेनीमा उद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले म्याग्दीलाई ‘टे«किङ रुटको राजधानी बनाउने’ घोषणा गर्दै पदमार्ग निर्माणमा प्राथमिकता दिने बताए ।

गत आव २०७३÷७४ मा ७० हजार विदेशी पर्यटकले भ्रमण गरेको म्याग्दीमा भ्रमण वर्षको अवसरमा दोब्बर पर्यटक भित्र्याउने लक्ष्य राखिएको संघका महासचिव लिलाराम गौतमले बताए ।

भ्रमण वर्षको अवसरमा कालीपुलमा बेनी नगरपालिकासँगको सहकार्यमा पर्यटकको तथ्याँक राख्ने र धार्मिक तथा पर्यटकीयस्थलका बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले डिजिटल (विद्युतीय) सूचना केन्द्र सञ्चालनमा ल्याएको द्धितीय उपाध्यक्ष राजेश शाक्यले बताए ।

कार्यक्रममा प्रदेश ४ की सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा, प्रदेशसभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्नुपर्ने विचार व्यक्त गरे ।

म्याग्दीको पर्यटन विकासका लागि पदमार्ग निर्माण, होटल तथा लज, सुरक्षा र लगानीमैत्री वातावरणको आवश्यकता रहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए ।

भ्रमण वर्षलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी प्रचारप्रसार र पूर्वाधार विकासमा लगानी भित्र्याउने अवसरका रुपमा उपभोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

आँधीबेरीबाट एक महिलाको मृत्यु

कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताएका छन् ।

सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको राँगो मरेको छ । झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ ।

त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ ।

ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार