८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी आयोजना इटालियन कम्पनीले बनाउने


Share This

नेपालबहस संवाददाता    

२९ जेठ,सोलुखुम्बु । कुल ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक साहस ऊर्जा लिमिटेडले इटालीको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ ।

साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी आयोजना इटालियन व्यवसायी कम्पनी कोअपरेटिभा मोरातोरीई सेमिन्टिस्टा डी रेभनासँग ठेक्का सम्झौता गरेको हो ।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल रइलेक्ट्रोमेकानिकललगायत संरचना निर्माणका लागि रु छ अर्ब ९६ करोडमा ठेक्का सम्झौता भएको कम्पनीका प्रबन्ध निर्देशक हिमप्रसाद पाठकले बताए । निर्माण व्यवसायीले यही महिनाको अन्त्यमा आयोजनास्थलको भ्रमणपछि निर्माण कार्य सुरु हुनेछ ।

“काम सुरु गरेको चार वर्षभित्र निर्माण कार्य सम्पन्न गछौँ,” पाठकले भने । आयोजना निर्माणका लागि ११ बैंकले रु आठ अर्ब ६५ अर्ब लगानी सम्झौता गरिसकेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड *एआइडिसिएल*, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्श *एनसिसी* बैंक, सेन्चुरी कमर्सियल बैंक, सानिमा बैंक, एनआइडिसिएल डेभलपमेन्ट बैंक, सनराइज बैंक, प्रभु बैंक र सिभिल बैंकले लगानीको सम्झौता गरेका हुन् ।

आयोजनाको लागत रु ११ अर्ब ८६ करोड रहेको छ । सत्ताइस प्रतिशत अर्थात् रु तीन अर्ब २१ करोड प्रवद्र्धकले स्वपुँजीका रुपमा लगानी गर्दैछन् भने बाँकी ७३ प्रतिशत बैंकको कर्जा लगानी हुने गरी शेयर संरचना तयार गरिएको छ । आयोजनाको लागत प्रतिमेगावाट रु १३ करोड ७९ लाख रहेको छ । आयोजनाबाट वार्षिक ५२ करोड आठ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स), कम्पनी रजिष्टारको कार्यालय र वातावरण मन्त्रालयबाट अनुमतिपत्र लिइसकेको छ । आयोजना सोलुखुम्बुको तिङ्ला, कागेल र पञ्चन क्षेत्रमा पर्छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार