नेपाल विद्यार्थी सङ्घले वितरण गर्यो साढे ६ लाख नयाँ सदस्यता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देशभर ६ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ । बाह्रौँ महाधिवेशन नजिकिएसँगै नेविसङ्घले काठमाडौं उपत्यकाबाहेक ७४ जिल्लामा नयाँ सदस्यता वितरण गरेको हो ।

नेविसङ्घका अध्यक्ष नैनसिंह महरले नेविसङ्घलाई केन्द्रदेखि गाउँँ र टोलसम्म पुर्याउन नयाँ सदस्यता वितरणलाई प्राथमिकता दिएको बताए । ‘मुलुकको शिक्षा क्षेत्रमा देखिएको विकृति विसङ्गति हटाई आगामी निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न सदस्यता वितरणलाई देशभर पुर्याउन लागेका हौँ’, उनले भने ।

लामो समयको विधान र नियमावली विवादपछि विधान पास भएको नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशनको तालिका तोकेको थियो । नेविसङ्घले तोकेको निर्वाचन कार्यतालिका अनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यका भित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ ।

निर्वाचन आउन केही दिनमात्र बाँकी हुँदा देशभरका १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको अध्यक्ष महरले जानकारी दिए । नेविसङ्घ अहिले महाधिवेशनमय हुँदै गएको उनको भनाइ छ । निर्धारित समयमा महाधिवेशन सम्पन्न नभए पनि छिट्टै महाधिवेशन सम्पन्न हुने गरी नेविसङ्घले काम गरिरहेको उनले बताए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार