fbpx

सरकारले यसवर्ष चार हजार युवालाई रोजगार बनाउँदै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सरकारले यसवर्ष करिब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना ‘इभेन्ट’ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालिम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी दिए ।

उनले छोटो अवधिका तीन महिने उक्त तालिमपछि युवा आफैँ स्वरोजगार हुने बताए । ३९० घण्टा सञ्चालन हुने तालिममा इलेक्ट्रिसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाने पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण रहेका छन् ।

तालिमका लागि भृकुटीमण्डपमा आइतबारदेखि मङ्गलवारसम्म भौचर सङ्कलन गरिएको थियो । तालिममा प्रशिक्षार्थीलाई दैनिक ७५ रुपियाँ बराबरको खाजासमेत उपलब्ध गराइनेछ । काठमाडौं उपत्यकाका विभिन्न तालिम प्रदायक संस्थाले दिइने उक्त तालिममा देशभरिका १६ देखि ४० वर्ष उमेर समूहका साधारण लेखपढ जान्ने, आर्थिक रूपमा विपन्नता भएकाले सहभागी हुन सक्नेछन् ।

तीन महिनाको तालिमपश्चात् प्रशिक्षार्थीको तालिमको सीप परीक्षण गरेर ६ महिना रोजगारीमा जानु पर्नेछ । यसरी तालिमपश्चात् तालिम दिने संस्थाले नै रोजगारमा लगाउने दायित्व रहेको उनले बताए । भौचरको आधारमा चैतको दोस्रो हप्ताबाट तालिम सञ्चालित हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार