सिंगापुरमा शिखर बैठक, ट्रम्प–किम जुन १२ मा भेट्दै


Share This

नेपालबहस संवाददाता    

सिंगापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् । दुई नेताबीच जुन १२ मा सिंगापुरमा शिखर बैठक हुँदै छ ।

दुवै नेताहरूले आ–आफ्नै सुरक्षाकर्मीहरू ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल, दुई नेता बस्ने होटल, उनीहरू हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिने वार्तास्थलको सुरक्षाबारे जानकार कूटनीतिज्ञले बताए ।

गोर्खा टुकडीले गत साता सांग्रिला होटलमा आयोजित एसिया सुरक्षा सम्मेलनमा पनि सुरक्षा दिएको थियो । उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रक्षामन्त्री जिम म्याटिससहित अन्य क्षेत्रीय मन्त्रीहरू सहभागी थिए । ‘सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट गोर्खाहरू नै हुन् । म विश्वस्त छु, शिखर वार्तामा पनि उनीहरू खटिनेछन्,’ इन्टरनेसनल इन्स्टिच्युसन फर स्ट्राटेजिक स्टडिज ९आईआईएसएस० मा सिंगापुरका सशस्त्र प्रहरी विज्ञ टिम हक्सलेले भने ।

सिंगापुर प्रहरी प्रवक्ताले भने गोर्खालाई खटाउने तथा उनीहरूको संख्याबारे भने प्रतिक्रिया दिन अस्वीकार गरे । आईआईएसएसका अनुसार सिंगापुर प्रहरीमा करिब १ हजार ८ सय गोर्खा छन् । १९ औं शताब्दीको नेपाल–अंग्रेज युद्धमा पराजय भोगेपछि बेलायतले गोर्खाहरूलाई भर्ती लिन थालेको हो । तर भारतमा बेलायतको उपनिवेश अन्त्यसँगै केही गोर्खाहरूलाई सिंगापुरमा तैनाथ गरिएको थियो ।

हक्सलेले गोर्खाले जातीय विविधता भएको सिंगापुरमा अति विशिष्ट व्यक्तिको सुरक्षा तथा दंगा नियन्त्रणमा लामो समयदेखि तटस्थ फौजका रूपमा कार्य गरेको बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State