fbpx

विवादमा मुछिएका क्याभानो न्यायाधीश नियुक्त


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतका न्यायाधीशमा राष्ट्रपति डोनल्ड ट्रम्पले मनोनयन गरेका ब्रेट क्याभानो हप्तौँदेखिको तीखो बहसपछि अनुमोदित भइ शपथ लिएका छन्।

अमेरिकी सिनेटले ४८ का विरुद्ध ५० मतले क्याभानोको मनोनयनलाई अनुमोदन गरेको छ। क्याभानोमाथि यौन दुर्व्यवहारको आरोप लगाइएको थियो, जुन आरोपलाई उनी अस्वीकार गर्छन्।

तर नियुक्तिबारे निर्णयमा पुग्न नसकेका दुईजना सिनेटरले संघीय अनुसन्धान निकाय एफबीआईले ११ घण्टा लगाएर गरेको एउटा अनुसन्धानपछि क्याभानोलाई समर्थन गर्ने निधो गरे।

उनको नियुक्तिले अमेरिकामा आउँदो नोभेम्बरमा हुने महत्त्वपूर्ण मध्यावधि चुनावअघि राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा राजनीतिक जित दिलाएको छ।

मतदानका क्रममा अर्का प्रदर्शनकारीहरूले चर्को नाराबाजी गरेपछि उपराष्ट्रपति माइक पेन्सले शान्ति, सुरक्षा कायम राख्न निर्देशन दिनुपर्‍यो।अनुमोदन र त्यसपछि शपथसँगै क्याभानो जीवनभरिका लागि न्यायाधीश भएका छन्।

उनको नियुक्तिले नौजना न्यायाधीश हुने अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादीहरूको नियन्त्रण थप मजबुत भएको छ। अमेरिकी कानूनको अन्तिम व्याख्या गर्ने अधिकार त्यहाँको सर्वोच्च अदालतमा निहित हुन्छ।

सर्वोच्च अदालतमा आयोजित एक समारोहबीच ५३ वर्षीय क्याभानोले शपथ लिएका छन्। राष्ट्रपति ट्रम्पले सिनेटलाई बधाई दिएका छन्।उनले क्याभानो डेमोक्र्याटहरूको डरलाग्दो आक्रमणबाट जोगिएको टिप्पणी समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया