थाइल्याण्डमा प्रचा रथलाई धेरै मत, फेउ थाईका धेरै सांसद विजयी



नेपालबहस संवाददाता
 




बैंकक । थाइल्याण्डमा गत आइतबार भएको मतदानबाट पालङ प्रचा रथ पार्टीले सबैभन्दा धेरै मत पाएको छ । निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पालङ पार्टीले सबैभन्दा धेरै मत पाए पनि फिउ थाइ पार्टीले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको छ ।

देशभरको मतगणना सम्पन्न भएपछि आयोगले पालङ पार्टीले ८४ लाख ३० हजार मत प्राप्त गरेको छ भने त्यसलाई पछ्याउँदै फिउ थाइ पार्टीले ७९ लाख २० हजार मत पाएको छ ।

मतका आधारमा तेस्रो भएको फ्युचर फरवार्ड पार्टीले ६२ लाख ६० हजार मत पाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ । त्यसैगरी डेमोक्रेट्स पार्टीले ३९ लाख ४० हजार मत ल्याउँदा भुम्जै थाई पार्टीले ३७ लाख ३० हजार मत पाएको छ ।

पार्टीतर्फको मत प्रचा रथले सबैभन्दा धेरै पाए पनि सांसद नै विजयी हुनेको सङ्ख्या भने फिउ थाईको सबैभन्दा बढी रहेको छ । कूल पाँच सय सीटमा फिउ थाइले सबैभन्दा धेरै अर्थात् १३७ सिटमा जित हासिल गरेको छ भने पालङ प्रथा रथले ११८ सिट जितेको छ । त्यसैगरी फ्युचर फरवार्ड पार्टीले ८८ सिट जित्दा डेमोक्र्याटस् र भुम्जै थाई पार्टीले ५० भन्दा बढी सिटमा मात्रै विजयी भएको छ ।

थाइल्याण्डको संसदको तल्लो सदनमा ३५० जना प्रत्यक्ष निर्वाचित र १५० जना पार्टीबाट निर्वाचित गरी ५०० जना सांसद रहन्छन् भने माथिल्लो सदनमा २५० जना सेनाले मनोनीत गर्ने व्यवस्था रहेको छ । केही वर्ष अगाडि सेनाले नै बनाएको संविधानमा २५० जना सेनाले सांसद मनोनीत गर्ने व्यवस्था गरिएको हो ।

सन् २०१४ मा भएको सैनिक “कू” पछि थाइल्याण्डमा गत आइतबार पहिलो पटक आम निर्वाचन भएको हो । पटकपटक सरेर भएको निर्वाचनको निष्पक्षता र वैधानिकतामाथि भने विभिन्न क्षेत्रबाट अहिले पनि प्रश्न उठाइएको छ ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा, कतिपय स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायतले मतदान र मतगणनामा त्रुटी रहेको दाबी गरेका छन् । उनीहरूले देशव्यापी रूपमा मतदातालाई लोभ, त्रास र प्रभावमा पारेको बताएका छन् । विवादका बीचमा पनि नतिजा सार्वजनिक भएको छ भने सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन् ।

सबैभन्दा धेरै सिटमा विजयी हासिल गरेको फिउ थाइ पार्टीकै नेतृत्वमा गठबन्धन गराइएको हो । गठबन्धनमा स्वेच्छिक निर्वासनमा रहनु भएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको समर्थन रहेको फिउ थाई पार्टीसहित अन्य छ पार्टी रहेका छन् ।

सो गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा सुदारात केयुराफानलाई अगाडि सारिएको छ । गठबन्धनले छिट्टै नै सरकार बनाउने प्रयास गर्ने उनले बताए ।


सम्बन्धित समाचार