स्वतन्त्र समितिमा आईसीसीका तीन जना


Share This

नेपालबहस संवाददाता    

विनोद पाण्डे

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि विगत दुई वर्षदेखि लागेको निलम्बन फुकुवा गर्ने प्रयासमा स्वतन्त्र समिति बनाउने कार्य सुरु गरेको छ ।

वैशाख ६ गते निर्वाचित क्यानको साधारणसभाले सल्लाहकार समितिमार्फत आएको विधानलाई हुबहु पारित गरेको थियो ।त्यसपछि क्यानको निर्वाचन प्रक्रिया अगाडि बढ्नका लागि स्वतन्त्र समिति बनाइनुपर्ने थियो, तर विशेष साधारणसभाले विधान पास गरेको ५० दिन बितिसक्दा पनि स्वतन्त्र समिति बनाइएको थिएन ।

आईसीसीका सहायक प्रमुख इमरान ख्वाजाले तीन दिनअघि निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुर्‍याललाई पत्र लेख्दै स्वतन्त्र समिति र अन्यबारे अवगत गराएका छन् ।स्वतन्त्र समितिमा आईसीसीबाट आन्तरिक लेखा प्रमुख मुहम्मद अली अस्लाम, स्ट्राजेटिक प्रोजेक्ट्स अमर शेख र फाइनान्स र अप्रेसन अफिसर–एसिया नितिशा कोथारी रहने छन् ।

त्यस्तै समितिमा निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषदका १–१ जना प्रतिनिधि हुनेछन् । कान्तिपुरलाई आईसीसीको पत्रमा आईसीसीले निर्वाचित क्यान र परिषद्लाई पनि १ हप्ताभित्र समितिमा आफ्नो प्रतिनिधि सिफारिस गर्न मिति तोकेको छ । आईसीसीले पत्रमा नौ बुँदा लेख्दै त्यसलाई कार्यान्वयन गर्न भनेको छ ।

जसअनुसार राखेपबाट पास गरेको विधान आईसीसीलाई लिखित रूपमा दिनुपर्ने, वैशाख ६ मा भएको विशेष साधारणसभाको माइन्युट कपी आईसीसीलाई दिनुपर्ने, जहाँ प्रस्तावित विधान पारित गरिएको थियो ।नेपाली क्रिकेटसँग सरोकार राख्नेहरूले कानुनी प्रक्रिया सकाउनुपर्ने, चुनाव लगायत अन्य कार्यक्रमहरू आईसीसीका लागि रिभ्यु गर्न चाहिने छन् ।

त्यस्तै आईसीसीको सहयोगमा क्यानका पदाधिकारीहरूको पेस्की फछ्र्योट टुंगो लगाउने, स्वतन्त्र समितिले सदस्यताबारे निर्णय गरेपछि जिल्ला, प्रदेश र केन्द्रको चुनाव हुनेछन् । आईसीसीले यसलाई सकेसम्म जति चाँडो टुंगो लगाए क्यानको निलम्बन फुकुवा हुन सक्ने जनाएको छ । यसका लागि आईसीसीको प्रतिनिधिमण्डल यसै महिनाको अन्तसम्म नेपाल आउने छ ।

जुलाई १ मा हुने आईसीसीको वार्षिक साधारणसभामा यसबारे छलफल हुने त्यसमै क्यानको निलम्बनको फुकुवाको निर्णय हुन सक्ने आईसीसीको पत्रमा लेखिएको छ । क्यानको निर्वाचन निष्पक्ष नभएको र नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले २५ महिना अगाडि क्यानलाई निलम्बन गरेको थियो ।

त्यसयता आईसीसीले आफ्नै रेखदेखमा नेपाली क्रिकेटको गतिविधि चलाइरहेको छ । नेपाली क्रिकेटको निकासका लागि आईसीसीले स्वतन्त्र व्यक्तिहरूलाई समेट्दै सल्लाहकार समिति गठन गरेको थियो ।

त्यही सल्लाहकार समितिले विभिन्न चरणको बैठकपछि बनाएको प्रस्तावित विधानलाई निर्वाचित क्यानको विशेष साधारणसभामा दोस्रो प्रयासमा पारित गरिएको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State