स्वास्थ्य मन्त्रालयबाट ७ सय ५३ थान सुर्तीजन्य पदार्थ बरामद


Share This


नेपालबहस संवाददाता    101 Views

भिषा काफ्ले

काठमाडौ । स्वास्थ्य मन्त्रालयको सुरक्षार्थ खटिएका प्रहरीहरुले मन्त्रालय परिसरबाट ७ सय ५३ थान सुर्तीजन्य पदार्थ जफत गरेका छन् । सुरक्षकर्मीले मन्त्रालयका कर्मचारी तथा मन्त्रालयमा सेवा लिन आउने सर्वसाधरणको शरीर खानतलासी गरी उक्त परिणामको सुर्तीजन्य पदार्थ बरामद गरिएको हो।

मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउने उद्देश्यले गत चैत ९ गतेदेखि स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालको निर्देशनमा सुर्तीजन्य पदार्थ लिएर मन्त्रालय प्रवेशमा रोक लगाइएको थियो। प्रवेश रोक लगाइएसँगै प्रहरीले मन्त्रालयका कर्मचारी र सेवाग्राहीको शरीर खानतलासी गरी सुर्तिजन्य पदार्थ बरामद गर्न थालेको थियो।

चैत ९ देखि जेठ २७ सम्ममा सुर्ती, चुरोट र गुठ्खा गरी यतिको मात्रामा सुर्तीजन्य पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएका सुर्तीजन्य पदार्थहरुमध्ये ४ सय ४० जनाबाट सोही संख्यामा सुर्तीको प्याकेट, ४४ जनाबाट ४४ प्याकेट चुरोट र १ सय ९६ प्याकेट गुट्खा बरामद गरिएको मन्त्रालयको सुरक्षा प्रमुख चन्द्र हमालले बताए।

‘दुई महिनाको अवधिमा ७ सय ५३ थान सुर्तीजन्य पदार्थ बरामद गरेका छौँ।’ उनले भने, ‘मन्त्रालयमा आउने सेवाग्राही र कर्मचारीको साथबाट निकालिएको हो।

सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने प्रमुख नियमनकारी निकायको रुपमा रहेको स्वास्थ्य मन्त्रालयबाटै नियमनको सुरुवात गर्ने भन्दै अर्यालले मन्त्रालयको गेटमा प्रहरी राखेर चेकजाँच सुरु गरेकी थिइन्। मन्त्रालयमा कार्यक्रम प्रभावकारी भएसँगै सिंहदरबारलाई पनि सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन प्रस्ताव गरिएको अर्यालले जानकारी दिइन्।

नवनियुक्त उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सुर्तीजन्य पदार्थ प्राणघातक रोगको प्रमुख कारण भएकाले यसको नियमन र नियन्त्रणलाई निरन्तरता दिइने बताए। उनले मन्त्रालयमा भैरहेको चेकजाँच समेत प्रभावकारी भएको बताउँदै यसलाई निरन्तरता दिएर चेतनामूलक कार्यक्रमलाई पनि प्रथमिकता दिनुपर्नेमा जोड दिए।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र सो ऐनलाई कार्यान्वयन गर्न बनेको निर्देशीकाले सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरणमा रोक लगाएको छ। त्यस्तै ऐनमा सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीयुक्त चित्र छाप्नुपर्ने उल्लेख छ।

सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि राम्रो ऐन बनाएको भनेर नेपाल सरकारले तीन वर्षअघि ब्लूम्र्ड टोवाको कन्ट्रोल अवार्ड पाएको थियो। कानुन राम्रो बनाएर अन्तर्राष्ट्रिय पुरस्कार पाएतापनि कार्यन्वयनको पाटो अत्यन्तै फितलो रहको सुर्तीजन्य पदार्थ विरुद्ध काम गर्दै आएको एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्द बताउँछन्। कान्तिपुर दैनिकबाट साभार

तपाईको प्रतिक्रिया