दलित आयोग दस महिनादेखि पदाधिकारीविहीन, नियमित कामसमेत प्रभावित


Share This

नेपालबहस संवाददाता    

पवित्रा सुनार

काठमाडौं । राष्ट्रिय दलित आयोग महिनौंदेखि पदाधिकारीविहीन छ। दुई वर्षदेखि पालैसँग आयोगका पदाधिकारीको पदावधि सकिएपछि आयोग पदाधिकारीविहीन बनेको हो।

पदावधि सकिएका पदाधिकारीको ठाउँमा नयाँ नियुक्ति हुन सकेको छैन। आयोगका अनुसार गत भदौमा आयोगका सदस्यहरु मञ्जित ताम्राकार र गोविन्द सुनारको पदावधि सकिएपछि आयोग पूरै रित्तो बनेको छ।

आयोगका अध्यक्ष मानबहादुर नेपालीको दुई वर्षअघि नै पदावधि सकिएको थियो। अन्य सदस्यको डेढ वर्षअघि पदावधि सकिएको थियो। आयोगका सदस्यसचिव सीताराम घलेको पदावधि गत असारमा सकिएको थियो । आयोगमा १७ जना पदाधिकारी थिए।

पदाधिकारीविहीन बनेपछि दलित आयोगले गर्नुपर्ने काम अघि बढ्न सकेको छैन। नियमित कामसमेत प्रभावित भएको छ। आयोगमा रहेका कर्मचारीको व्यवस्थापन, तलबभत्ता, दलित समुदायका लागि आवश्यक ऐन निर्माणमा निर्देशन गर्ने, दलित समुदायमाथि भएका जातीय विभेदका घटनाको अनुगमन तथा कारबाहीको लागि निर्देशन दिनेलगायतका काम अघि बढ्न नसकेको आयोगका अधिकृत रामबहादुर विश्वकर्माले बताए।

आयोगका पूर्वसदस्य ताम्राकारले लामो समयसम्म पनि आयोगमा पदाधिकारी नियुक्त नहुनुले यो विषयमा सरकारले ध्यान नदिएको पुष्टि भएको दाबी गरे। आयोगका पूर्वसदस्यसचिव घलेले आयोग खालि भएपछि जातीय विभेद तथा हिंसाका घटनामा पीडितले न्याय नपाउने बताए। आयोगमा पदाधिकारी नभएकै कारण मना सार्कीको हत्या घटना प्रभावित बनेको बताए।

यस विषयमा प्रधानमन्त्रीका पे्रस सल्लाहाकार कुन्दन अर्यालले संवैधानिक आयोगहरुमा क्रमशः पदपूर्ति हुँदै जाने बताएका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State