मुटुरोगबारे नेपालमा पहिलोपटक अनुसन्धान सुरु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूसँगको समन्वयमा सरकारले नेपालमा मुटुरोगीको अवस्थाबारे अनुसन्धान सुरु गरेको छ । मुटुरोगी बढ्दै गए पनि सरकारसँग यकिन तथ्यांक छैन । त्यसैले सरकारले यससम्बन्धी पूर्ण विवरणका लागि अनुसन्धान थालेको हो ।

अनुसन्धानका क्रममा रोगीको संख्या, यसको जोखिम, न्यूनीकरण, मृत्युलगायत विषयमा तथ्यांक संकलन तथा अनुसन्धान गरिने भएको छ ।केहीअघिदेखि नै काठमाडौं विश्वविद्यालयले यस्तो अनुसन्धान आवश्यक रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेको थियो ।

अनुसन्धानका लागि विभिन्न १० देशका प्रतिनिधि नेपाल आएका छन् । चिकित्सक, नर्स, फार्मेसी, पारामेडिक्स, पब्लिक हेल्थलगायत विभिन्न विधाका स्वास्थ्यकर्मीको सहभागितामा अनुसन्धानबारे छलफल गरिएको छ ।

काठमाडौं विश्वविद्यालयका डिन डा। राजेन्द्र कोजूका अनुसार १० देशका प्रतिनिधि नेपालमा भेला भएका छन् । उनीहरूले मुटुरोगको समस्या निदानजस्ता विषयमा कसरी केन्द्रित भएर अनुसन्धान गर्ने भन्नेबारे जानकारी गराउनेछन् ।

‘भविष्यमा मुटुरोग कसरी रोक्न सकिन्छ भन्ने चिन्ता हामी सबैलाई लागेको छ,’ उनले भने, ‘उपचार गर्न सक्छौँ÷सक्दैनौँ भनेर हामी नेपालमा पहिलोपटक अनुसन्धानमा जुटेका हौँ ।’

विश्व समुदायको सहयोग आवश्यक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा। विकास देवकोटाका अनुसार नसर्ने रोगको प्रकोप विश्वभर बढ्दोक्रममा छ । त्यसमा पनि नेपालमा मुटुरोगको समस्या धेरै देखिएको छ ।

स्वदेशी आवश्यकताअनुसार योजना बनाइने
सोमबार आयोजित सम्मेलनमा सहभागी नेपाली चिकित्सकले आफ्ना अनुभव सुनाएका थिए । उनीहरूले भने, ‘नेपालमा मुटुरोगबारे विदेशी तथ्यांक मात्र छ । नेपालमा मुटुरोग बढेको भनिए पनि प्रमाण छैन । कुन क्षेत्रका बिरामीलाई कस्तो औषधि चलाउने भन्ने पनि हामीकहाँ छैन ।’

‘मुटुमा संक्रमणका कारणले भन्दा पनि अन्य कारणले बिरामीको मृत्यु हुने गरेको पाइएको छ,’ डा। कोजूले भने, ‘धूमपान गर्ने, चिल्लो पदार्थ बढी खाने, शारीरिक व्यायाम नगर्ने बानीले रक्तनली साँघुरिँदै जान्छ । त्यसपछि हृदयाघात भई मृत्यु हुन पुग्छ । त्यसैले विदेशीभन्दा स्वदेशी अनुसन्धानका आधारमा मुटुरोगको उपचार गर्नेछौँ ।’

आगामी ३ वर्षभित्र अनुसन्धानको रिपोर्ट सार्वजनिक हुनेछ । सम्मेलनमा भियतनाम, भारत, चीन, घाना, केन्या, रुवान्डा, अमेरिका, नेपाललगायत १० देशका चिकित्सक सहभागी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार