कांग्रेसका पूर्वमहामन्त्री सिटौला नै ‘रिङ’ बाहिर !



नेपालबहस संवाददाता
 



krisna prasad sitaula

कांग्रेसभित्र आकांक्षी धेरै, देउवा र पौडेल न मिल्छन् न मिलाउन नै सक्छन् !

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो । कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नाम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहमतिमै बैठक स्थगित भएको बताए । अर्को कारण थियो पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कुन पक्षले समेट्ने ?

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनको एजेन्डा राखेर बैठक बोलाएका थिए । यो समिति केन्द्रीय कार्यसमितिपछिको शक्तिशाली संरचना हो । कुनै निर्णय या दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बेला केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा कार्यसम्पादन समिति बैठक बोलाइन्छ ।

२९ सदस्यीय समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४० प्रतिशत दिन सभापति देउवा तयार भएका छन् । देउवाले शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा राखेको शीर्ष नेताहरूको छलफलमा पौडेल पक्षलाई ४० प्रतिशत दिने सैद्धान्तिक सहमति जुटेको हो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कुन पक्षले समेट्ने भन्नेमा भने बैठकमा विवाद भएको थियो । त्यसपछि सिटौला बैठकबाट बाहिरिएका थिए ।

आफूलाई अपमान गरिएकाले बैठकमा नबसेको उनको भनाइ छ । वरिष्ठ नेता पौडेलले सिटौला पूर्णरूपमा आफ्नो समूहमा नरहेकाले चालीस प्रतिशतभित्र नपर्ने बताएका थिए । देउवा निकटका केही सदस्यले संस्थापन इतरपक्षको एउटै बैठकमा बस्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशनमा संयुक्त मोर्चाबन्दी गर्ने भएकाले चालीस प्रतिशतमा पर्नु हुन्न भन्न नपाइने भनेपछि दुवै पक्षका नेताहरूबीच केहीबेर सवालजवाफ भएको थियो । देउवा अन्तिममा सिटौलालाई आफ्नै कोटाबाट समावेश गर्न तयार भएका थिए ।

सहमतिअनुसार २९ सदस्यमा पदाधिकारीसहित ११ सदस्य पौडेल पक्षले पाउनेछ । विधानअनुसार पदाधिकारी स्वतः सदस्य हुन्छन् । त्यसबाहेक सभापतिले २२ सदस्य मनोनयन गर्न पाउनेछन् । २२ मध्ये वरिष्ठ नेता, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवबाहेक ८ जनाको नाम दिन पौडेललाई देउवाले आग्रह गरेका छन् ।

सिटौलालाई देउवाले पाउने १२ सदस्यमध्येबाट समेटिनेछ । सभापति देउवाविरुद्ध एउटै मोर्चामा उभिएका पौडेल–सिटौलाबीचको सम्बन्ध योघटनाबाट चिसिने देखिएको छ । ‘बल्लबल्ल एउटै टिममा ल्याउने वातावरण बनेको थियो, हिजो ९शुक्रबार० को घटनाले फेरि सम्बन्ध चिसिएको छ,’ सिटौला निकट एक केन्द्रीय सदस्यले भने, ‘यसबाट सभापति देउवालाई लाभ पुगेको छ ।’

पौडेलले भागबन्डा आधारमा नभएर मापदण्डका आधारमा सदस्य बनाउनुपर्ने माग आफूले राख्दै आएको बताए । ‘भागबन्डा मिलेको भन्ने होइन, केन्द्रीय कार्यसम्पादन समितिमा कस्ता–कस्ता सदस्यलाई राख्ने भन्नेबारे मापदण्ड बनाउनुपर्छ अनि खुला र पारदर्शी रूपमा छलफल हुनुपर्छ भनेर मैले कुरा राखेको छु,’ उनले कान्तिपुरसँग भने, ‘भागबन्डाबाट समाधान खोज्नु हुन्न ।’

उपसभापति निधिले भने प्रजातन्क्रमा शत्ति सन्तुलन र बाँडफाँटलाई अन्यथा लिन नहुने बताए । यसअघिको समिति भागबन्डा मिलाउनकै लागि २९ सदस्यीयलाई बढाएर ३२ सदस्यीय बनाइएको थियो, जुन विधानविपरीत गठन भएको भनी पौडेल पक्षले आवाज उठाएपछि सभापति देउवाले गत वैशाख १६ गते विघटन गरेका थिए । पौडेलले यसअघिकै मापदण्डअनुसार समिति बन्नुपर्ने माग गरेको खबरलाई आजको कान्तिपुर दैनिकले प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

यसअघि केन्द्रीय कार्यसमितिले तय गरेको वरिष्ठताका आधारमा चयन गरिएको थियो । अहिले पनि पौडेलले वरिष्ठताका आधारमा क्रमशः २९ जनासम्मका सदस्यलाई केन्द्रीय कार्यसम्पादन समितिमा राख्ने प्रस्ताव गरेका छन् । ‘आफूलाई सुविधा हुँदा भागबन्डा खोज्ने, नहुँदा अर्को मापदण्ड खोज्ने दोहोरो भूमिका देखाउनुभएन,’ देउवा निकट केन्द्रीय सदस्य एनपी सावदले भने, ‘पार्टीभित्र गिभ एन्ड टेक सामान्य हो । संवादबाट भएको सहमतिलाई ग्रहण गरेर अघि बढ्नुपर्छ ।’

केन्द्रीय कार्यसम्पादन समितिमा क–कसलाई राख्ने भन्ने टुंगो लगाउन दुवै पक्षलाई हम्मे छ । पौडेलले पूर्वमहामन्त्री प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, मीनेन्द्र रिजाल, सुजाता कोइराला, शेखर कोइराला, दिलेन्द्रप्रसाद बडुलाई ल्याउनुपर्ने छ । उनले यीमध्ये ८ जनालाई मात्रैल्याउन सक्छन् ।

पार्टी केन्द्रीय कार्यालयको वरिष्ठता क्रममा ३२ नम्बरमा रहेका शेखर कोइराला छुट्छन् । तर, कुलबहादुर गुरुङ, नरहरि आचार्य र नारायण खड्का त्यस्तो मापदण्डका कारण सदस्यमा आउँछन् । यी तीनमध्ये आचार्य पछिल्लो समय स्वास्थ्यका कारण क्रियाशील छैनन् ।गुरुङ देउवा पक्षबाट र खड्का पौडेल पक्षबाट अलग भएका छन् ।

यी दुवैलाई समेट्ने कि नसमेट्ने भन्नेमा देउवा पक्षमा अलमल छ । देउवालाई आफ्नो टिमबाट सिटौलाका अतिरिक्त गोपालमान श्रेष्ठ, चित्रलेखा यादव, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, फरमुल्लामन्सुर, मानबहादुर विश्वकर्मा, एनपी सावद, आनन्द ढुंगाना (पौडेल पक्ष छाडेर देउवातिर गएका), भीष्मराज आङदम्बे, जीवनबहादुर शाही, सुरेन्द्र पाण्डे, पुष्पा भुसाल, अजयकुमार चौरासियामध्येबाट ल्याउन दबाब छ ।आकांक्षीको संख्या दुवै पक्षमा बढी छ ।


सम्बन्धित समाचार