वातावरण प्रदूषण साझा चुनौती : प्रधानमन्त्री ओली


Share This


नेपालबहस संवाददाता    57 Views

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी रहेको बताए । मंगलबारको दिनले वातावरण संरक्षणको कुनै न कुनै भूमिकामा संलग्न हुन हरेक नेपालीलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको विषय भएको हुँदा उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु हामी सबैको दायित्व रहेको बताए ।

सामाजिक, आर्थिक परिवेशका साथै पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणको कार्य अगाडि बढाउन आवश्यक रहेको उनको भनाइ छ । देश भरिका जनसमुदायको सहभागितामा हरियाली प्रवद्र्धन, प्रदूषण नियन्त्रण र सरसफाइ अभियान शुरु भएको देख्दा आफूलाई खुशी लागेको उल्लेख गर्दै उनले स्वच्छ वातावरण महाअभियानमा सहभागी हुन पाउँदा अत्यन्त हर्षित भएको बताए ।

प्रधानमन्त्री ओलीले वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले आह्वान गरेको स्वच्छ वातावरण महाअभियान–२०७५ मा सहभागी भएर आआफ्नो क्षेत्रबाट सहयोग पु¥याउन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक आह्वान पनि गरेका छन् ।

अव्यवस्थित विकासले रोगव्याधी र अस्वस्थ अवस्था मात्र निम्त्याउँदैन, त्यस्तो अव्यवस्थाले बाढीपहिरो, सुक्खालगायतका ठूलो धनजनको क्षति हुने प्रकोपको सम्भावनासमेत बढाउँछ । वातावरणको विनाश नहुने गरी नाप नक्सा तयार गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्न पनि उनले आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९७२ मा हरेक वर्षको जुन ५ तारिखका दिन ‘विश्व वातावरण दिवस’ मनाउने घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया