आयुर्वेदबाट नयाँ रोगको उपचार सम्भव : उपप्रधानमन्त्री यादव


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेदमार्फत नयाँ रोगको उपचार सम्भव बनाउनुपर्ने बताएका छन् ।

नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रले आज राजधानीमा आयोजना गरेको नेपाल, भारत र चीनका विशेषज्ञसहित अन्तर्राष्ट्रिय गोष्ठीमा उनले भारत र चीनसँगको सहकार्यले मात्र आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार गर्न सम्भव हुने बताए ।

उनले नीतिनिर्माण तहमा आयुर्वेदलाई महत्व नदिइएकाले अपेक्षित विकास र विस्तार हुन नसकेको बताए । जडीबुटीको प्रचुर सम्भावनालाई उपयोग गर्दै आयुर्वेद उपचार पद्दतिको गुणस्तर बृद्धि गर्न सकेमा आधुनिक औषधि आयात गर्नुपर्ने अवस्थामा समेत कमी आउने मन्त्री यादवको भनाइ थियो ।

स्वास्थ्य सचिव पुष्पा चौधरीले सरकारले आयुर्वेदलाई सधैँ प्राथमिकतामा राखेको उल्लेख गर्दै देश संघीयतामा गइसकेकाले यसको अझ विकास हुने विश्वास व्यक्त गरिन् । नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका कार्यकारी निर्देशक डा सिद्धार्थकुमार ठाकुरले आयुर्वेदको अनुसन्धानका लागि काम शुरु भइसकेको बताएका छन् ।

नेशनल इन्स्टिच्युट अफ आयुर्वेद जयपुर भारतका निर्देशक प्राडा सञ्जीव शर्माले नेपाल आयुर्वेदको जननी भएको उल्लेख गर्दै आयुर्वेदको पाण्डुलिपिमा नेपालसँग भएको ज्ञान अरुसँग नभएको बताएका छन् ।

नेपाल, भारत र चीनका आयुर्वेदका विशेषज्ञसहितको गोष्ठीमा आयुर्वेदको विकासका लागि अनुसन्धान, आमबाथ, प्रविधि उपकरण विकासबारे छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State