विरोध प्रदर्शनका लागि निषेधित क्षेत्रमा नेविसंघको प्रदर्शन


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल विद्यार्थी संघले बुधबार काठमाडौँको माइतीघरमा सरकारले विरोध प्रदर्शनका लागि ठाउँ तोकिएको विरोधमा प्रदर्शन गरेको छ ।

सरकारले विरोध प्रदर्शनका लागि काठमाडौँमा सात, ललितपुरमा छ र भक्तपुरमा एक ठाउँ तोकेकोमा काँग्रेसको भातृ संस्था नेविसंघले आज माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको हो ।

माइतीघरको प्रदर्शनमा नेविसंघका पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी भएको नेविसंघका केन्द्रिय सदस्य निखिल गिरीले बताए ।

नेविसंघले गरेको प्रर्दशनलाई ध्यानमा राखेर ठूलो संख्यामा माइतीघर मण्डलामा प्रहरी परिचालित समेत गरिएको थियो । आक्रोसित कांग्रेसका कार्यकर्ताले निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनमा लाठी चार्ज गरेको बताइएको छ ।

शान्तिपूर्ण रुपमा भेला भई आफ्ना विचार राख्ने जनताको अधिकारलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेकोमा कांग्रेस संसदीय दलले आपत्ती प्रकट गर्दै सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए जनताको तर्फबाट नेपाली कांग्रेसले निषेधाज्ञा अवज्ञा समेत गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया