श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरिसेना आनन्दकुटी विहार जाने



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रासस / कृष्णराज गौतम

काठमाडौं । श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरिसेना स्वयम्भूस्थित आनन्दकुटी विहार जाने भएका छन् । उनी विहारमा रहेको बुद्धको अस्थी धातु दर्शनका लागि आइतबार जाने कार्यक्रम छ ।

श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू जानुहुने भएपछि स्वयम्भू क्षेत्रमा खुशीयाली छाएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति सिरिसेना विहारमा आयोजना गरिने विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुने भएका छन् ।

नेपाल बुद्धको जन्मभूमि हो । श्रीलङ्काले बुद्ध धर्मलाई राष्ट्र धर्मका रुपमा सम्मान गर्दैआएको छ । दुई देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध निकट छ । उक्त विहारले राष्ट्रपति सिरिसेनालाई सुनको मोलम्बा ‘जलप’ लगाएको बुद्धको प्रतिमा उपहार प्रदान गरिने विहारका प्रमुख भिक्षु धर्ममूर्तिले जानकारी दिए ।

शाक्यमुनि बुद्धको अन्त्येष्टिका क्रममा प्राप्त भएका अवशेषलाई अस्थी धातु भनिन्छ । बुद्ध धर्मका अनुयायीले पवित्र वस्तुका रुपमा सम्मान गर्ने सो धातु श्रीलङ्काबाट उपहारस्वरुप नेपाल ल्याइएको हो । मुलुकको पुरानो थेरवादी अभ्यास गरिने उक्त बौद्ध विहार २०७२ सालमा गएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।

उक्त विहारको पुनःनिर्माणका लागि श्रीलङ्काली सरकारले रु २१ करोड सहयोग गरेको थियो । राष्ट्रपति सिरिसेनाले उक्त विहारको सम्पूर्ण संरचनाकाबारेमा जानकारी लिएका छन् । विहारको सो भवनको संरचना पूरा हुन लागेको भए पनि केही पूर्वाधारका साथै श्रीरामलङ्का चैत्य पूरै भत्काएर नयाँ निर्माणका क्रममा छ ।

पछिल्लो पटक विकास भएका अत्याधुनिक प्रविधिको प्रयोग गरी भूकम्प प्रतिरोधात्मक बनाइएको उक्त विहारमा धार्मिक गतिविधिका लागि हल, पुस्तकालय, भिक्षु बन्नका लागि दिक्षा लिने विशेष कक्षलगायतका संरचना तयार भइसकेको छ । पुनःनिर्माण करीब ९५ प्रतिशत सकिएको छ ।

सम्मेलनका लागि नेपाल आउनुभएका राष्ट्रपति सिरिसेनाले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी, आइतबार आनन्दकुटी विहार र चारुमती विहार पुगेर ‘धन्दो चैत्य’को दर्शन तथा पूजा गर्नुहुने कार्यक्रम छ । बिम्स्टेकका सदस्य राष्ट्रमध्ये म्यान्मामा ८८, श्रीलङ्कामा ७५ र थाइल्याण्डमा ९० प्रतिशतको हाराहारीमा बौद्ध धर्मावलम्बी छन् । यी तीन मुलुक बौद्ध राष्ट्र हुन् ।

यसरी विशिष्ट पाहुनाले गर्ने सम्पदास्थलको भ्रमणले बौद्ध दर्शनको महत्वका साथै नेपालको धार्मिक र पर्यटकीय महत्वमा टेवा पुग्ने अखिल नेपाल भिक्षु महासङ्घका महासचिव कौडण्यले विश्वास व्यक्त गरे ।

आनन्दकुटी विहार गुठीले सञ्चालन गरेको करीब आठ दशक पुरानो मानिने सो विहारले बुद्ध जयन्तीमा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको आतिथ्यतामा हुने मुख्य सार्वजनिक समारोह तथा प्रत्येक चार वर्षमा हुने अस्थी धातुयात्रा र प्रदर्शनको व्यवस्थापन गर्दै आएको छ ।

मुलुकमा अहिले विभिन्न धर्मावलम्बीका साथै १२५ जाति तथा समुदाय र १२३ भाषा प्रचलनमा रहेको भए पनि विभिन्न जाति तथा धर्मावलम्बी अवलोकनका लागि त्यहाँ आउने गरेका छन् ।

विश्व सम्पदा सूचीमा रहेको विहारले सामाजिक सेवा र धार्मिक गतिविधिका माध्यमबाट मानिसमा नैतिकताको विकास र समाजमा शान्ति कायम गर्न भूमिका निर्वाह गर्दैआएको भिक्षु तपस्सी धम्मले बताए।

विसं २०१० वैशाख पूर्णिमामा तत्कालीन राजा त्रिभुवनले आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बैठकको अध्यक्षता गरेको इतिहास छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •