चिकित्सकको माग पुरा हुन्छ : उपप्रधानमन्त्री यादव


Share This

नेपालबहस संवाददाता    

चितवन । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकले आन्दोलन गर्नु नपर्ने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरङ्ग भवनको आज समुद्घाटन गर्दै मन्त्री यादवले चिकित्सकले अघि सारेको माग सरकारले पूरा गर्ने बताए।

उनले भने “उनीहरुले जे कुराका लागि आन्दोलन गर्दै छन् त्यो मुलुकी ‘संहिता’ ऐनलाई सरकारले संशोधन गर्दैछ । आन्दोलनको के अर्थ हुन्छ र ?” मानवीय कमी कमजोरीलाई हटाउँदै यसलाई अझै विज्ञ सेवा दिने गरी स्वास्थ्य संस्थाहरुलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

चितवनस्थित क्यान्सर अस्पतालले दिँदै आएका सेवालाई अझै प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मापदण्डको उपकरण अवश्यक भएको भन्दै उनले यस अस्पताललाई मुलुककै सबैभन्दा ठूलो, व्यवस्थित र राम्रो उपचार हुने अस्पतालका रुपमा विकास गर्न सरकार लागेको बताए ।

मन्त्री यादवले चितवनलाई मेडिकल सेन्टरका रुपमा विकास गर्न सकिने बताए । उनले भने, “चितवनको भौगोलिक वातावरण र राजधानीसँगको निकटताका कारण मेडिकल सेन्टर बनाउन सकिन्छ ।”

क्यान्सर अस्पताल दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्ने केन्द्रका रुपमा अघि बढाउने भन्दै उहाँले यसका लागि अस्पतालले आवश्यक प्रक्रिया शुरु गर्न व्यवस्थापनलाई निर्देशन दिए ।

सरकारले अहिले कम लागतमा चिकित्सक उत्पादन गर्ने बाटो खोजी रहेको भन्दै उनले यो भएमा आधारभूत स्वास्थ्य निःशुल्क गर्न सकिने बताए ।

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रभावकारीरुपमा सञ्चालन गर्न खोजेको उनको जिकिर थियो । उनले भने, “शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति र भ्रष्टाचारको अन्त्य गरेर मुलुक बनाउनुपर्छ ।” अहिले शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलहरुले भर्ती केन्द्रका रुपमा लिएकाले यस क्षेत्रले विकास गर्न नसकेको मन्त्री यादवको भनाइ छ ।

तपाईको प्रतिक्रिया