प्रेस स्वतन्त्रता सम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न कांग्रेसको माग



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

नेपाली कांग्रेसका नेता एवम् पूर्व सूचना तथा संचार मन्त्री डा.मीनेन्द्र रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

भदौ १ गतेबाट लागू गरिएको नयाँ मुलुकी ऐनका कतिपय प्रावधानमा असहमति जनाउँदै संशोधन गर्न नेपाल पत्रकार महासंघले सरकारलाई दबाब दिइरहेका बेला कांग्रेस नेता रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन छुट्टै कानुनी व्यवस्था गर्न उपयुक्त हुने धारणा राखे।

आइतबार नेपाल पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन सञ्चारकर्मीहरु पनि सचेत हुनुपर्ने बताए। सञ्चारकर्मीहरु जिम्मेवारी भए प्रेस स्वतन्त्रता हनन् हुन नसक्ने नेता रिजालको तर्क छ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले नयाँ मुलुकी ऐन संशोधन गरेर भएपनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन आफूहरु प्रतिवद्ध रहेको स्पष्ट पारे।

उनले नयाँ मुलुकी ऐनमा संशोधन गर्नुपर्ने विषयवस्तुको ड्राफ्ट तयार पारेर सरकारलाई बुझाउन पनि नेपाल पत्रकार महासंघसँग आग्रह समेत गरे।

नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान पनि समेटिएको दावी गर्दै संशोधन गर्न सरकारलाई दबाब दिँदै आएको छ।