राष्ट्रियसभा : थप पाँच विधेयक पारित, अर्को बैठक असोज ४ गते



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रियसभाको आजको तेस्रो बैठकले मौलिक हकसँग सम्बन्धित पाँच विधेयक पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘सार्वजनिक सुरक्षा ‘तेस्रो संशोधन’ विधेयक, २०७५’ र ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५’ लाई प्रतिनिधिसभाको सम्बन्धित समितिको प्रतिवेदनसहित पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तुत गरेको ‘जातीय भेद्भाव तथा छुवाछुत ‘कसूर र सजाय’  ‘पहिलो संशोधन’ विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ लाई प्रतिनिधिसभाको सम्बन्धित समितिको प्रतिवेदनसहित पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित भएको छ ।

त्यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले चार विधेयक प्रतिनिधिसभाको शनिबार र आइतबारको बैठकले पारित गरेको जानकारी दिए ।

ती विधेयकमा ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ‘पहिलो संशोधन’ विधेयक, २०७५’, ‘वातावरण संरक्षण ‘पहिलो संशोधन’ विधेयक, २०७५’, ‘बालबालिकासम्बन्धी विधेयक, २०७५’ र ‘अपराधपीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ छन् ।

राष्ट्रियसभाको अर्को बैठक असोज ४ गते बिहीबार बिहान ११ बजे बस्ने भएको छ ।

राष्ट्रियसभाबाट सात विधेयक पारित

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार