उपराष्ट्रपति पुन चीन र पूर्वप्रधानमन्त्री नेपाल घाना प्रस्थान


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे ।

उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो । सो अवसरमा नेपालस्थित विदेशी राजदूत, उच्च सरकारी र सुरक्षा निकायका अधिकारीले उनलाई बिदाइ गरेका थिए ।

उपराष्ट्रपति पुन एयर चाइनाको विमानबाट सिचुवान प्रान्तको राजधानी छेन्दु प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ । छेन्दुमा यही असोज ४ गतेदेखि शुरु हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन गएको समाचार स्रोतले जनाएको छ ।

उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । उपराष्ट्रपति पुनले असोज ४ गते नै ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

चीनमा रहँदा उनीसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ । उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नु हुनेछ । उपराष्ट्रपति पुन चीनको भ्रमण सकेर असोज ८ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

नेता नेपाल घाना प्रस्थान

उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिन घाना प्रस्थान गरेका छन् । घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी नेकपाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटासमेत गए राति त्यसतर्फ प्रस्थान गरिसकेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल बहस डटकमलाई बताए ।

सम्मेलन बिहीबार र शुक्रबार हुनेछ । नेता नेपाल यही असोज ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

पूर्व माओवादी ‘हाई–कमाण्ड’का नेताको चीन भ्रमण संयोग कि योजना ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार